
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तयारीको गृहकार्यमा जुटेको छ । सरकारले गत जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक पछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो ।
बजेटमार्फत सरकारले लिएको नीतिलाई अगाडि बढाउन मौद्रिक पक्षबाट सहयोग गर्ने काम मौद्रिक नीतिले गर्छ। सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य राखेको छ। यसका लागि आवश्यक सहयोग मौद्रिक पक्षबाट राष्ट्र बैंकले गर्नुपर्छ।
राष्ट्र बैंकले मौद्रिक नीतिका लागि आमसर्वसाधारण तथा सरोकारवालासँग सुझाव संकलन लिन थालेको छ । उसले असार १० गतेभित्र आफ्नो सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । सुझावहरु आरुथिक अनुसन्धान विभागमा पठाउनुपर्ने हुन्छ ।
राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने सम्बन्धि एक कार्यविधि बनाएको छ । त्यस अनुसार साउन ७ गतेभित्र उसले मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ ।
मौद्रिक नीतिको मस्यौदा तयार पार्ने नयाँ कार्यविधि
हरेक आर्थिक वर्षको पहिलो हप्ता नै मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले संशोधन गरेको मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को प्रथममा मौद्रिक नीति सार्वजनिक हुने मिति तोकिएको छ ।
केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक हुने मिति साउनको पहिलो सातासम्मलाई निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गर्ने मौद्रिक नीति र त्यसकोको त्रैमासिक र अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने समयसीमा पनि निर्धारण गरेको छ ।
वार्षिक मौद्रिक नीति बनाउँदा जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा गर्दा हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग्नुपर्नेछ ।
प्राप्त सुझाव मौद्रिक नीति तर्जुमाको लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाको लागि हरेक त्रैमास समाप्त भएको १५ दिनपछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गर्नुपर्नेछ ।
छलफल सम्पन्न भए पछि मौद्रिक नीतिको मस्यौदामाथि व्यवस्थापन समितिमा छलफल हुनेछ । संचालक समितिबाट पारित भएपछि वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष शुरु भएको पहिलो हप्ताभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गर्नुपर्ने भएको छ ।




