Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुँजी पलायन बढ्न थाल्योः राष्ट्र बैंक

२०८० जेष्ठ २५ गते

बैंकिङ खबरर पछिल्लो समय बैंकिङ प्रणालीबाटै पुँजी पलायन हुने क्रम बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विदेशबाट वस्तु तथा सेवाको आयात गर्दा लागतभन्दा बढी मूल्य (ओभर इन्भ्वाइसिङ) देखाएर नेपालबाट पुँजी पलायन हुने क्रम बढ्न थालेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई यस्तो सूचना प्राप्त भएको बताएका छन् ।

उनले ओभर इन्भ्वाइसिङ गरी पुँजी पलायन गर्न मद्दत गर्ने बैंकलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन् । सबै बैंक तथा वित्त कम्पनीका अध्यक्षहरुलाई राजधानीको याक एण्ड यति होटेलमा बोलाएर गभर्नरले भने ‘भन्सार शुल्क कम भएका वस्तुमा ओभर इन्भ्वाइसिङ गरेर बैंकिङ प्रणालीबाटै पुँजी पलायन भइरहेको छ भन्ने सूचना हामीलाई प्राप्त भएको छ, त्यसलाई गंभीररुपमा हेर्नुहोस् र रोक्नुहोस्, तपाईंहरुले रोक्नु भएन भने हामी कारबाही गर्न बाध्य हुनेछौं ।’

बैंकिङ प्रणालीबाटै पुँजी पलायन बढ्न थाल्नु खतराको संकेत भएको उनले सचेत रहन आग्रह गरे । विदेशबाट सामान आयात गर्दा प्रतितपत्र (एलसी) खोल्ने क्रममा सामानको मूल्यभन्दा बढी मूल्य राखेर एलसी खोलिएको भेटिएपछि राष्ट्र बैंकले कडाइ गर्ने संकेत गरेको छ ।