
बैंकिङ खबर/ तरलतामा सुधार हुन थालेपछि अन्तरबैंक सापटीको ब्याजदर घटेको छ । ७ प्रतिशतभन्दा माथि रहेको अन्तरबैंक ब्याजदर ७ प्रतिशतभन्दा तल झरेको छ।
जेठ १५ गतेसम्ममा एक बैंकले अर्को बैंकसँग लिने सापटीको दर ६.९० प्रतिशतमा झरेको छ। बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत स्थायी तरलता सुविधाको ब्याजदर बढाएर साढे ८ प्रतिशत पुर्याएपछि बैंकहरुले अन्तरबैंक सापटीको ब्याजदर समेत साढे ८ प्रतिशत पुर्याएका थिए।
अहिले बैंकिङ्ग प्रणालीमा तरलता सहज बन्दै गएपछि बैंकहरुले अन्तरबैंक कारोबारको ब्याजदर घटाउन थालेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुको अन्तरबैंक सापटीको ब्याजदर करिब ४ महिना अघिको अवस्थामा आएको छ ।
बैंकहरुले नेपाल राष्ट्र बैंकको तरलता सुविधा चलाउन कम गरेका छन्। अहिले बैंकहरुको सिडी रेशियो नै ८४ प्रतिशतमा झरिसकेको छ। यसले गर्दा पनि बैंकहरुसँग पर्याप्त तरलता रहेको देखिन्छ।
अहिले २८ दिन अवधिको ट्रेजरी विल्सको दर ७.९१ प्रतिशतमा झरेको छ। चालु आर्थिक वर्षको सुरुवातमानै ट्रेजरी विल्सको दर १२ प्रतिशतसम्म कायम भएको थियो।




