Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको निष्क्रिय कर्जा बढ्दो

२०८० जेष्ठ १४ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थामा निष्क्रिय कर्जा बढ्दो रहेको छ । चालु आर्थिक वर्ष २०७९/८० को सुरुवातसँगै वित्तीय स्थायित्वका सूचकको स्थिति तुलनात्मक रूपमा कमजोर रहेको आइतबार अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख छ ।

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जाको औसत अनुपात २०७८ पुसमा १.३१ प्रतिशत रहेकोमा २०७९ पुसमा २.६३ प्रतिशत रहेको छ । पुसपछि निष्क्रिय कर्जा अझै बढ्ने क्रममा रहेको बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणले देखाएको छ ।

निष्क्रिय कर्जा बढ्दै गएको भएपनि बैंकहरुसँग तरल सम्पत्ति भने पर्याप्त रहेको छ । २०७९ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा तरल सम्पत्तिको अंश २४.३० प्रतिशतको आर्थिक सर्वेक्षणमा उल्लेख छ । यस्तै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा नगद तथा बैंक मौज्दातको अंश ७.१६ प्रतिशत र कुल निक्षेप तथा प्राथमिक पूँजीमा कर्जाको अंश ८५.६० प्रतिशत रहेको छ । जोखिम भारित सम्पत्तिको तुलनामा प्राथमिक पूँजी र कुल पूँजीको अनुपात क्रमशः १०.०९ प्रतिशत र १२.२९ प्रतिशत रहेको छ ।

नेपालको वित्तीय प्रणालीको सम्पत्ति तथा दायित्व संरचनामा बैंकिङ क्षेत्रको हिस्सा उच्च रहेको अर्थ मन्त्रालयले प्रकाशित गरेको सर्वेक्षणमा उल्लेख छ । २०७९ पुस मसान्तमा वित्तीय क्षेत्रको कुल सम्पत्ति तथा दायित्व संरचनामा बैंक तथा वित्तीय संस्थाको अंश ८६.६ प्रतिशत रहेको छ । वित्तीय क्षेत्र अन्तर्गत नेपाल राष्ट्र बैंकको अंश १४.७ प्रतिशत र वाणिज्य बैंकको अंश ५८.८ प्रतिशत जनाएको छ । यस्तै अन्य वित्तीय संस्थाहरूको अंश १३.१ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।