Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंक भन्छ,‘भारतमा २ हजारको नोट नचलाउने निर्णयले नेपालमा असर गर्दैन’

२०८० जेष्ठ ९ गते


बैंकिङ खबर/ भारत सरकारले २ हजार रुपैयाँको नोट नचलाउने निर्णय गरेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले अबदेखि २ हजारका नोट बजारमा नपठाउने घोषणा गरेको हो ।

बजारमा चलनचल्तीमा रहेका २ हजार रुपैयाँका नोट भने प्रयोगमा भने रोक लगाइएको छैन । सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि रिजर्भ बैंकले २ हजारका नोट चलनचल्तीमा ल्याएको थियो ।
यता नेपाल राष्ट्र बैंकले भारु दुई हजारको नोट नचलाउने भारत सरकारको निर्णयले नेपालमा कुनै असर नगर्ने जनाएको छ ।

नेपालमा भारु दुई हजारको नोटले वैधता नपाएपनि सीमावर्ती क्षेत्रमा केही नोटहरु रहेको हुन सक्ने र साट्ने अवधि लामो रहेकाले नसाटिने जोखिम नरहेको राष्ट्र बैंकले जनाएको छ । सन् २०१६ मा भारत सरकारले नोटबन्दी गर्दा नेपालमा चलनचल्तीमा रहेको ५ करोड भारतीय रुपैयाँ अझै नेपालको केन्द्रीय बैंकमा थन्किएर बसेको छ ।

भारतले त्यतिबेला बैंकिङ प्रणालीमा नरहेको पैसा सटही गरेपछि नागरिकसँग रहेको पैसा बैंकले संकलन गरेको ५ करोड भन्दा बढी भारु सटही हुन नसकेको हो । पुनः १ अक्टोबर २०२३ देखि लागु हुनेगरी रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले २ हजार दरका नोट चलनचल्तीमा बन्द गर्ने निर्णय गरेको छ ।

सन् २०१६ मा नोटबन्दी गरिएको ५०० र १ हजार दरका भारु नोट नेपालमा चलनचल्तीका लागि वैधानिक थियो । तर, अहिले बन्द गर्ने निर्णय गरेको २ हजार दरको भारु सर्वसाधारणले प्रयोग गर्न प्रतिबन्धित छ ।

यसले सीमा क्षेत्रको बजारमा बाहेक २ हजार दरका भारु नोट नेपालमा ठूला संख्यामा भएको हुनसक्ने सम्भावना न्यून रहेको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताएका छन् ।

नेपालमा चलनचल्तीमा नै नभएका र अनौपचारिक माध्यममा सीमाक्षेत्रमा रहेका व्यापारीले केही भारु प्रयोग गर्ने भएपनि ३० सेप्टेम्बर २०२३ सम्मको समयसीमाभित्र साट्न र भारतको बैंकमा जम्मा गर्ने समय दिएकोले २०१६ को नोटबन्दीको समयको जस्तो नसाटिने जोखिम नरहेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. श्रेष्ठले नेपालको अनौपचारिक प्रणालीमा २ हजार दरको भारु कति प्रयोगमा छन् भन्ने तथ्यांक नरहेको बताए ।