
बैंकिङ खबर/आर्थिक वर्ष सकिन करिब दुई महिना बाँकी रहँदा बैंकमा दुई खर्बको निक्षेप थपिने अनुमान गरिएको छ । आर्थिक वर्षको अन्तिममा सरकारी खर्च बढ्ने प्रवृत्ति रहेकाले निक्षेप बढ्ने अनुमान गरिएको नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले बताए ।
चालू आर्थिक वर्षमा १२.६ प्रतिशतले कर्जा विस्तार हुने राष्ट्र बैंकले लक्ष्य राखे पनि ६ प्रतिशतको मात्रै पुग्ने संघको अनुमान छ ।
यस्तै संघका अनुसार गत असारयता बैंकहरूमा तीन खर्ब १० अर्ब निक्षेप थपिएको छ । अहिले कुल निक्षेप ४८ खर्ब ५१ अर्ब पुगेको छ । तर, यसबीच बैंकहरूले एक खर्ब २२ अर्ब मात्रै लगानी गरेका छन् ।
गत चैत मसान्तसम्म ४३ खर्ब नौ अर्ब कुल कर्जा प्रवाह भएकोमा ५ जेठसम्म आइपुग्दा १२ अर्ब ८६ करोडले कर्जा घटिसकेको छ । अहिले बैंकहरूको कर्जा लगानी ४२ खर्ब ९६ अर्ब पुगेको छ । बैंकहरूको कर्जा निक्षेपको अनुपात पनि गत साउनको तुलनामा घटिसकेको छ । गत साउनमा ८८.०७ प्रतिशतसम्म पुगेको यस्तो अनुपात घटेर वैशाखमा ८४.८८ प्रतिशत भएको छ । बैंकमा लगानीयोग्य पुँजीको प्रमुख आधार मानिएको शोधनान्तर स्थितिसमेत बचतमा गइरहँदा पनि बैंकहरूको कर्जा लगानी बढेको छैन ।


