Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर घट्दो क्रममा छः बैंकर्स संघ

२०८० जेष्ठ ८ गते

बैंकिङ खबर/नेपाल बैंकर्स संघ (एनबीए)ले ब्याजदर घट्दो क्रममा रहेको जनाएको छ । एनबीएका अध्यक्ष सुनिल केसीले पुसमा १०.९१ प्रतिशत पुगेको आधार दर वैशाखमा १०.४८ प्रतिशतमा झरेको बताए । जसले गर्दा माघमा यो वर्षकै उच्च बिन्दु १३.०३ प्रतिशत पुगेको वाणिज्य बैंकको औसत कर्जाको ब्याजदर वैशाखमा १२.८४ प्रतिशतमा झरेको उनले बताए ।

‘स्प्रेड दर ४ प्रतिशत कायम गर्नुपर्ने भएकाले पनि असारपछि ब्याजदर थप घट्छ । बैंकमा निक्षेप बढेको अनुपातमा कर्जा लगानी नबढेकाले तरलता पनि सहज हुँदै गएको छ’ उनले भने । हाल ४.४ प्रतिशत रहेको निक्षेप र कर्जाको औसत ब्याजदर अन्तर असारदेखि ४ प्रतिशत कायम गर्नुपर्नेछ । स्प्रेड दर राष्ट्र बैंकले निर्धारण गरेको सीमाभित्र राख्न बैंकले ब्याजदर थप घटाउने केसीले बताए । यो वर्ष केन्द्रीय बैंकले लिएको १३ प्रतिशतको कर्जा विस्तारको लक्ष्य भने पूरा नहुने उनले स्पष्ट पारे ।

आगामी दिनमा सरकारले ठूलो परिमाणमा आन्तरिक ऋृण लियो भने बैंकिङ क्षेत्रमा दबाब पर्न सक्ने भएकाले सरकारले वाह्य स्रोत परिचालन गर्नुपर्ने उनले बताए । ञवित्तीय स्रोतको अभाव भएकाले अहिले पनि आन्तरिक ऋृणको ब्याजदर ९ प्रतिशतभन्दा माथि छ,झ केसीले भने ।

बैंक वित्तीय संस्थाको पुँजी पर्याप्त अनुपात कसिलो हुँदै गएकाले कर्जा विस्तार घटेको केसीले बताए । चालू पुँजी कर्जासम्बन्धी नीतिले आगामी वर्ष कर्जा विस्तार सुस्त हुने र सरकारी खर्च नबढ्ने तथा आर्थिक वृद्धि सुस्त हुने उनको अनुमान छ ।

कार्यक्रममा एनबीएका पूर्वअध्यक्ष एवं हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले ब्याजदर घट्दै गएकाले बजार चलायमान हुँदै जाने बताए । उनले खराब कर्जा बढे पनि नेपालका बैंकहरू बलियो अवस्थामा रहेको र आगामी दिनमा हामी सचेत भएर नीतिगत निर्णय गर्नुपर्ने अवस्थामा रहेको बताए ।