
बैंकिङ खबर/ एक वर्षअघि यही समयमा कर्जाको माग उच्च थियो । बैंकले सहज रुपमा कर्जा दिन सकेका थिएनन् । व्यवसायी, उद्योगीहरुलाई कर्जा पाउन मुस्किल थियो । तर अहिले बैंकहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएको छ, तर कर्जा माग भने न्यून छ ।
बैंकहरुले कर्जा माग नभएको बताउँदै आएका छन् भने उता उद्योगी–व्यवसायीहरु भने लगानी गर्ने वातावरण नै नभएको बताउँदै आएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको कर्जा निक्षेप अनुपात ८५ प्रतिशतभन्दा तल झरेको छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा तरलता बढ्दै जाँदा सिडि रेसियो निरन्तर घट्दो क्रममा देखिएको छ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठ २ गतेसम्ममा बैंकहरुको सिडि रेसियो ८४.९८ प्रतिशतमा झरेको छ। यसले बैंकहरु अहिले कर्जा लगानी गर्न सहज अवस्थामा रहेको देखाएको छ ।
चालु आर्थिक वर्षको सुरुवातमा तरलता अभावले ९० प्रतिशत हाराहारी रहेको बैंकहरुको सिडि रेसियो अहिले घट्दो क्रममा छ । केहि बैंकको सिडि रेसियो ८० प्रतिशतभन्दा पनि तल झरेको छ ।
बैंकहरुको सिडि रेसियो घट्दै जाँदा बैंकहरुको लगानी गर्नसक्ने पूँजी पनि बढ्दै गएको देखिन्छ । पछिल्लो समय निक्षेप संकलन बढिरहेको भएपनि कर्जा लगानी खासै बढेको छैन । बैंकहरु असुलिमा केन्द्रित भएको कारण अहिले कर्जा लगानी उल्टो घट्दो क्रममा छ ।
बैशाख यता बैंकहरुको निक्षेप संकलन २ अर्ब रुपैयाँले बढेको छ भने कर्जा लगानी ३४ अर्ब रुपैयाँले घटेको छ । जेठ २ गतेसम्ममा बैंकहरुको कुल निक्षेप ४८ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी ४२ खर्ब ९४ अर्ब रुपैयाँ छ । अहिले सबैजसो बैंकसँग कर्जा लगानीको लागि पर्याप्त रकम छ । तर पनि बजारमा कर्जाको माग भने खासै बढेको छैन् ।
राष्ट्रिय व्यापार संघका महासचिव बैकुण्ठ दाहाल देशमा लगानीयोग्य वातावरण नभएको बताउँछन् । उनी भन्छन्, ‘देशमा लगानीको वातावरण नै छैन । साना व्यवसायीहरु समस्यामै छन् । केहि समय व्यवसायीहरु बैंकको चर्को व्याजका कारण समस्यामा परे । उनीहरुको व्यवसाय खस्कियो । कति व्यवसायी व्यवसायबाटै पलायन भइसकेको अवस्था छ ।’ उनले थपे,‘अहिले व्यवसायीहरु ऋणको व्याज नै तिर्न सक्ने अवस्थामा छन् । न त व्यवसाय गर्ने वातावरण छ ।’
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष सुनील केसी बैंकहरुसँग लगानी गर्ने पैसा हुँदा पनि बजारमा पैसाको माग नभएको बताउँछन् ।
उनी भन्छन्, ‘अहिले मुलुकको अर्थतन्त्रमा सुधार आइरहेको छ । बैंकहरू लगानी गर्न सक्ने अवस्थामा आइरहेका छन्। तर बजारमा माग छैन। कर्जा माग गर्दै नयाँ परियोजनाहरू आएका छैनन्।’




