तिहारलाई फूलको पर्व मानिन्छ । त्यसैले यतिबेला फूलको व्यापार राम्रो हुन्छ । नेपालमा ठूला–ठूला राष्ट्रियताका कुरा हुन्छन्, मुलुकलाई पूर्ण रुपमा आत्मनिर्भर बनाउनेसम्म कुरा गरिन्छन् । तर वर्षमा एकपटक लगाईने फूलसमेत हामीले आफैलाई पुग्ने गरी आफ्नै भूमिमा उत्पादन गर्न सकिरहेका छैनौँ । विडम्बना यो छ कि हामी धेरैले तिहारमा लगााउने फूल भारतमा फुलेको हो ।
यस वर्ष तिहारमा भारतबाट ६० लाख रुपैयाँभन्दा बढी फूलको माला भित्र्याइएको छ । सामान्यतया प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादन हुने गरेको छ । यस वर्षको तिहारका लागि गत वर्षभन्दा ५० हजार बढी फूलको माला आयात गरिएको फ्लोरिकल्चर एसोसियसनले जनाएको छ । अघिल्लो वर्ष एक लाख ५० हजार माला आयात गरिएको थियो ।
यसवर्ष तिहारमा भारतबाट ६० लाख रुपैयाँ मूल्य बराबरको दुई लाख सयपत्री फूलको आयात गरिएको फ्यानका अध्यक्ष कुमारकसजु श्रेष्ठले जानकारी दिए । ‘बजारमा मूल्य नियन्त्रणका लागि पनि भारतीय माला आवश्यक छ’ श्रेष्ठले भने, ‘थोरै अभाव भएमात्रै पनि बजारमा बिचौलियाले फूलको मूल्य अत्यधिक बढाउँछन् र उपभोक्ता बढी मूल्य तिर्न बाध्य हुन्छन् ।’
हाल स्वदेशमा ८२ प्रतिशत फूल उत्पादन हुने गरेको र बाँकी १८ प्रतिशत विदेशबाट आयात गर्नुपरेको पुष्प व्यवसायीहरुको भनाई छ । भारतबाट आयात गर्दा प्रतिगोटा माला ३० देखि ३५ रुपैयाँसम्म पर्ने भएकाले नाफा र विभिन्न किसिमबाट हुने नोक्सानी पूर्तिको आधारमा उपभोक्ताले ५० देखि ६० रुपैयाँभन्दा बढी मूल्य तिर्न नपर्ने एसोसिएसनले जनाएको छ ।
कति खपत हुन्छ माला ?
यो वर्षको तिहारमा मात्रै देशभर ११ लाख रुपैयाँ बराबरको माला खपत हुने भएको छ । गत वर्षको तिहारमा आठ लाख रुपैयाँ बाराबरको मालाको कारोबार भएकोमा यस वर्ष तीन लाख रुपैयाँ वृद्धि हुने भएको हो । जसमा नौ लाख माला नेपालमै उत्पादित फूलबाट बनेका हुन्छन् । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।
वार्षिक रुपमा करिव डेढ अर्ब रुपैयाँको फूलको कारोबार हुने गरेकामा तिहारमा मात्र सात करोड रुपैयाँको फूलको कारोबार हुँदै आएको छ । त्यसैगरी करिब पाँच करोड रुपैयाँको फूल वार्षिक रुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिक महिनादेखि फागुनसम्मको महिनामा फूलको बढी खपत हुने गरेको एसोसिएसनका उपाध्यक्ष रामजीप्रसाद तिमिल्सिना बताए ।
एक अर्बको मसला आयात
तिहारका लागि करिब १ अर्ब रुपैयाँबरारबरको त मसला नै आयात हुन्छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा सकेसम्म बढी मसला दिने चलन भएकाले मसलाको माग बढी छ । मसला किन्ने सर्वसाधारण भने अघिल्लो वर्षभन्दा दोब्बरसम्म मूल्य वृद्धि भएको गुनासो गरिरहेका भेटिन्छन् । मसला किन्ने मुख्य समय कुकुर तिहारदेखि गोवद्र्धन पूजाको दिनसम्म हुने गर्छ ।
ड्राइफुडमै बाहिरिन्छ एक अर्ब
भाइ मसलाको रूपमा प्रयोग हुने सुक्खा फलफूल अर्थात् ड्राइ फुड तिहारमा सबैभन्दा बढी उपभोग हुने गर्छ । वर्षभर आयात हुने ड्राई फुडको सबैभन्दा धेरै परिणाम तिहारअघिको तीन महिनामा हुने गर्छ । साउन, भदौ र असोज गरी तीन महिनामा ९५ करोड ५० लाख रुपैयाँ बराबरको ड्राई फुड आयात भएको भन्सार विभागले जनाएको छ ।
तिहारमा प्रयोग हुने ड्राइ फुडमा विशेषगरी काजु, पेस्ता, नरिवल, सुपारी, बदाम, ओखर, खजुर, छोकडालगायत पर्दछन् । तिहारमा सबैभन्दा बढी खपत भए पनि नेपालमा उत्पादन नहुने ड्राई फुड पूर्णतः आयातमा निर्भर रहने गरेको छ । यी मसला भारत, चीन, बेलायत, भियतनाम, इन्डोनेसिया, इटाली, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायतका मुलुकबाट आयात हुने गरेका छन् । मिठाई पनि भारतबाटै ! मीठाईका लागि प्रयोग हुने चीनीदेखि तेलसम्म भारतबाटै आयात हुन्छ । मीठाई नेपालमा बनेपनि त्यसका लागि आवश्यक सम्पूर्ण सामानका लागि भारतकै भर पर्नुपरेको छ ।





