Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको ब्याज तिर्न ३ महिना थप, अब असारसम्म हर्जना नलाग्ने

२०८० जेष्ठ ३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कर्जाको ब्याज तिर्ने अवधि थप गरेको छ। नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै २०७९ चैत मसान्तसम्म असल वर्गमा वर्गीकरण भएका अल्पकालिन तथा चालु पुँजी प्रकृतीको कर्जाको ब्याज नियमित रहेको अवस्थामा आवश्यकतालाई र औचित्यको आधारमा कुनै हर्जना तथा शुल्क नलाग्ने गरी म्याद थप गरेको छ।

राष्ट्र बैंकले यस्तो कर्जाको ब्याज २०८० असार मसान्त भित्र (तीन महिना) म्याद थप गर्न सकिने भनेको छ। साथै बैंक तथा वित्तीय संस्थाले २०७८ भदौ ८ गते अघि जारी भएका ऋणपत्रलाई २०८० पुस मसान्तसम्म निक्षेपमा गणना गर्न पाउने भएका छन्।

साथै, कर्जाको ब्याजदर (बैंकदर) ७.५ प्रतिशत कायम गरिएको छ। निर्देशिकामा उल्लेख छ, ‘बैंक तथा वित्तीय संस्थाले होटल तथा रेष्टुरेन्ट, पशुपंक्षी पालन, निर्माण क्षेत्रसँग सम्बन्धित ५ करोड सम्मको अन्य सबै कर्जा प्रवाहमा आम्दानी विश्लेषण गरी ब्याजमा १० प्रतिशत रकम असुल गरी शर्त अनुसार कर्जाको पुनरतालिकीकरण र पुनर्संरचना गर्न सकिनेछ।’ पुनरतालिकीकरण र पुनर्संरचना २०८० असारभित्र गरिसक्नुपर्ने उल्लेख छ। २०७९ चैत मसान्सम्ममा सक्रिय वर्गको वर्गीकरण भएमा कर्जा पुनरतालिकीकरण र पुनर्संरचना गर्न सकिने भएको छ।