
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले लिएको लचिलो नीतिले ब्याजदर थप घट्ने र आर्थिक गतिविधि बढ्ने बताएका छन् । मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले भने ‘आगामी दिनमा हामीले जारी गर्ने सर्कुलरले सुविधाको विषय थप प्रस्ट पार्नेछ ।’
यस्तै उनले तथ्यांकले दिएको स्पेसका आधारमा मौद्रिक नीतिको दिशा परिवर्तन गरिएको बताए । बजार र बैंक वित्तीय संस्थाले दिएको सुझावका आधारमा कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न दिने निर्णय गरिएको जानकारी दिए ।
केन्द्रीय बैंकले आर्थिक स्थायित्वलाई ध्यान दिँदै मौद्रिक नीतिलाई लचिलो बनाएको उनको भनाइ छ । ‘हामीले बैंक वित्तीय संस्थालाई नै कुन ऋृणीको कति कर्जा कसरी पुनःतालिकीकरण र पुनःसंरचना गर्ने अधिकार दिएका छौं,’ अधिकारीले भने, ‘बैंकहरूले ऋणीको क्षमताका आधारमा कर्जा पुनःतालिकीकरण र पुनःसंरचना गर्न सक्छन् ।’


