Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोभिडपछि नेपाली अर्थतन्त्र डिजिटाइज भयो : गभर्नर अधिकारी

२०८० बैशाख १७ गते

महाप्रसाद अधिकारी
गभर्नर, नेपाल राष्ट्र बैंक

कोभिड महामारीको असरले नेपाली अर्थतन्त्र डिजिटाइज हुँदै गएको छ । कोभिडले नेपालको अर्थतन्त्रमा निकै परिवर्तन गरेको छ । हाल रिटेलमा डिजिटाइजेसन बढ्दै गएको छ ।

अर्कोतर्फ नेपालको वित्तीय प्रणाली निकै सुरक्षित छ । दक्षिण एसियाको अन्य देशहरूसँगको तुलना गर्दा पनि हाम्रो अवस्था सुरक्षित छ । जसरी अमेरिकाका बैंकहरूले एक खालका उत्पादनहरूमा ह्वात्त लगानी गर्ने गर्छन् । त्यहाँ हप्ता हप्तामा बैंकहरूको अवस्था बिग्रिरहेको हुन्छ । त्यहाँका बैंकहरूलाई छुट्टै अनुगमन गरिन्छ तर नेपालमा त्यो व्यवस्था छैन । हाम्रोमा परम्परागत रुपमा अनुगमन भइरहेको छ ।

अर्थतन्त्रमा उतारचढाव आए एनपीए बढ्नेछ । एनपीएलाई कभर गर्नका लागि बैंकहरूले आफ्नो नाफाबाट रकम छुट्याएका छन् कि छैनन् त ? यो निकै महत्त्वपूर्ण कुरा हो । नेपालका बैंकहरूले त्यो रकम छुट्याएका छन् । यसकारण पनि डिपोजिटरको पाइपाइ सुरक्षित रहेको छ ।

कोभिड महामारीकालअघि फिजिकल क्यासको अर्थतन्त्र निकै भएको तर कोभिडपछि यसमा निकै परिवर्तन भएको छ । अहिले हाम्रो अर्थतन्त्र डिजिटाइजेसनमा गएको छ । हाल आरटीजीएसबाट महिनामा ४२ खर्ब रुपैयाँसम्म कारोबार भइरहेको छ ।

डिजिटल प्ल्याटफर्म कनेक्ट आईपीएसबाट १ महिनामा पचासौं अर्ब रुपैयाँ कारोबार भइरहेको छ । यस्तै क्यूआरबाटै २२ अर्ब रुपैयाँ कारोबार भएको छ । यसरी डिजिटल पेमेन्ट, रिटेल पेमेन्टमा व्यापक सुधार हुँदै गएको छ । यसको असर नै भन्नुपर्छ करेन्सी इन सर्कुलेसन डेढ वर्षको अवधिमा १ खर्बले घटेको छ । हामीले बजारमा अघि पठाउने गरेको जत्ति रकम थियो, त्यो निकै घटेको छ ।

यसको अर्थ त्यो रकम राष्ट्र बैंकमा फर्किएको छ । यो भन्दैमा बैंकहरूमा डिपोजिट घटेको होइन । तपाईंहरूले राष्ट्र बैंकको तथ्यांक हेर्नुभए हुन्छ । यो महिनामा मात्रै ५४ खर्ब नाघेको छ । कत्तिलाई बजारमा भएको पैसा कसैले लुकाए कि भन्ने पनि लाग्ला तर अब यो शंका रहेन ।

श्रीलंकाभन्दा हाम्रो अवस्था निकै राम्रो छ । हामीले त्यो स्वतन्त्र अध्ययनलाई मान्नुपर्छ । यो क्रमशः सुधार पनि भइरहेको छ । अब समग्र तरलताको कुरा गर्दा बजारमा कसरी पैसा गइरहेको छ भन्ने कुरा गर्दा, कि त आन्तरिक ऋणको माध्यमबाट जाने, कि त सरकारको खर्चबाट वा विदेशी सामग्रीमा जाने हो ,

यसमा गत वर्षको तथ्यांक हेर्ने हो भने रिजर्भ मनी १२ प्रतिशतले घटेको थियो । यसमा हालको ८ महिनाको तथ्यांकमा साढे ४ प्रतिशतले बढेको छ । यसले गर्दा हाम्रो समग्र तरलताको अवस्थामा प्रगति भएको छ । हाम्रोमा तरलता बढेको छ तर ऋण माग भएको छैन ।

(काठमाडौंमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले राखेका मन्तव्यको सम्पादित अंश)