
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का नवनिर्वाचित पदाधिकारीसँग राष्ट्र बैंकको नीतिको विषयमा सार्वजनिक उत्तेजना फैलाउने भाषण नगर्न आग्रह गरेका छन् ।
बुधबार गभर्नर अधिकारीलाई भेट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेको एफएनसीसीआईका पदाधिकारीसँग गभर्नर अधिकारीले सो आग्रह गरेका हुन् ।
भेटमा एफएनसीसीआईको टोलीले ब्याजदर घटाउन राष्ट्र बैंकले उपलब्ध सबै मौद्रिक उपकरण प्रयोग गर्न आग्रह गरेको थियो । ब्याजदर महँगो भएकाले बैंक वित्तीय संस्थामा तरलता भएर पनि कर्जा लगानी हुन नसकेको र बजारमा माग बढ्न नसकेकाले यो समस्या समाधान गर्न केन्द्रीय बैंकले नीतिगत लचकता अपनाउनु पर्ने एफएनसीसीआईले माग गरेको छ ।
एफएनसीसीआईले कर्जा पुनर्संरचना र पुनरतालिकीकरण गर्दैं सहजता सिर्जना गर्न माग गरेको छ । यस्तै एफएनसीसीआईले हाल राष्ट्र बैंकले स्थानीय तहको निक्षेपलाई सीसीडी गणना गर्दा जोड्न दिए पनि आगामी साउनदेखि गणना गर्न नदिने नीति लिएको भन्दै अहिलेको व्यवस्था कायम राख्न माग गरेको छ ।
स्थानीय तहको निक्षेप र डिभेन्चरलाई के गर्न दिने भन्ने अनिश्चितता हुँदा बैंकहरुले कर्जा लगानी गर्न नसकेको भन्दै एफएनसीसीआईले तत्काल स्पष्ट नीति लिन गभर्नरसँग माग गरेको छ । जवाफमा गभर्नर अधिकारीले एफएनसीसीआईले उठाएका विषयलाई गम्भीर रुपमा लिएको बताएका थिए ।




