
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुले चालू आर्थिक वर्षको ८ महिनामा ३६ खर्ब ९७ अर्ब रुपैयाँ बराबरको तरलता सुविधा उपभोग गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंकहरुले रिपोमार्फत ३ खर्ब ७७ अर्ब २७ करोड, सोझै खरिद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड, स्थायी तरलता सुविधामार्फत २७ खर्ब २० अर्ब ४९ करोड र ओभरनाइट तरलता सुविधामार्फत ५ खर्ब १५ अर्ब ६७ करोड गरी कुल ३६ खर्ब ९७ अर्ब २८ करोड रुपैयाँ तरलाता सुविधा उपभोग गरेका हुन् ।
यसैअवधिमा रिभर्स रिपोमार्फत ५ अर्ब तरलता प्रशोचन गरिएको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद ५० खर्ब १० अर्ब७६ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ३ अर्ब ७० करोड खुद खरिद गरी ४ खर्ब ८२ अर्ब ५३ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब २२ करोड खुद खरिद गरी १ खर्ब ४७ अर्ब १४ करोड तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर ३ अर्ब ८ करोड बिक्री गरी ४ खर्ब १ अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको केन्द्रीय बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले अमेरिकी डलर ३ अर्ब १० करोड बिक्री गरी ३ खर्ब ७० अर्ब ६२ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो ।



