Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बाहिर चर्चामा आएजस्तो बैंक ब्याजदर महंगो छैनः बैंकर्स संघ

२०७९ चैत्र १६ गते

बैंकिङ खबर/ नेपाल बैंकर्स संघले बैंकिङ क्षेत्रमाथि चौतर्फी आक्रमण हुनु दुखद रहेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै संघका अध्यक्षसुनिल केसीले ब्याजदरका नाममा समग्र औद्योगिक क्षेत्र र ४ करोड खातावालमाथि आक्रमण भएको बताए ।

उनले भने, ‘नेपालको बैंकिङ क्षेत्रमा आक्रमण भएको जस्तो देखिए पनि यो समग्र औद्योगिक क्षेत्रमा आक्रमण भएको हो, देशमाथि आक्रमण भएको हो, साढे ४ करोड खातावालमाथि आक्रमण भएको हो ।’ बैंकिङ विरुद्धका यस्ता गतिविधिले दीर्घकालीन रुपमा राष्ट्रलाई नै गम्भीर असर पार्ने उनको भनाइ छ । ‘यस्ता गतिविधिले वैदेशिक लगानीमा गम्भीर असर पार्छ, जसको असर देशको अर्थतन्त्रले भोग्नुपर्छ,’ उनले भने, ‘बैंकहरुले विदेशबाट पैसा ल्याउन सुरु भएको समयमा यस्तो हुनु गलत छ ।’

बाहिर चर्चामा आएजस्तो बैंकको ब्याजदर महंगो नभएको केसीले बताए । ‘कोरोना महामारीको समयको ब्याजदरलाई हेरेर अहिले महंगो भयो भन्न मिल्दैन, अहिलेको ब्याजदर लकडाउन हुनुभन्दा ठीक अघिको अवस्थामा पुगेको मात्रै हो,’ केसीले भने, ‘यद्यपि यो ब्याजदर पनि घटाउन हामी प्रयासरत छौं ।’
ब्याजदर कुनै आन्दोलन गरेर घटबढ नहुने उनले प्रष्ट पारे ।

पछिल्लो समय बैंकहरुले विद्युतीय सवारीसाधनमा लगानी बढाएको बताए । उत्पादन बढाउने क्षेत्रमा पनि बैंकहरुले लगानी बढाइरहेको उनको भनाइ छ । अध्यक्ष केसीले घरजग्गाको कारोबार कम हुँदा खराब कर्जामा बढेको बताए ।