Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बिकेन वैदेशिक रोजगार बचतपत्र, ४.४९ प्रतिशत मात्रै बिक्री

२०७९ चैत्र १० गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले जारी गरेको वैदेशिक रोजगार बचतपत्र बिक्री हुन सकेन । चैत १० देखि गणना हुनेगरी १२.५० प्रतिशत ब्याजदर रहेको ५० करोड रुपैयाँ बराबरको वैदेशिक रोजगार बचतपत्रमा जम्मा २ करोड २४ लाख रुपैयाँ बराबरको मात्रै बिक्री भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार माग गरिएभन्दा जम्मा ४.४९ प्रतिशत मात्रै वैदेशिक रोजगार बचतपत्र बिक्री भएको हो ।

वैदेशिक रोजगारमा गएकालाई लक्षित गर्दै राष्ट्र बैंकले साढे १२ प्रतिशत ब्याजदरमा ५ वर्षे अवधिको बचतपत्र जारी गरेको थियो । वैदेशिक रोजगार बचतपत्रमा राष्ट्र बैंकले दिएको साढे १२ प्रतिशत ब्याजदर हालसम्मकै उच्च हो भने बैंकहरूले मुद्दतीमा दिनेभन्दा पनि बढी हो । हाल बैंकहरूले व्यक्तिगत मुद्दतिमा जम्मा ११ प्रतिशतसम्म मात्रै ब्याज दिँदै आएका छन् ।

अहिले मात्रै नभएर यसअघि निस्कासन भएका कुनै पनि वैदेशिक रोजगार बचतपत्रमा माग गरेजतिको लागि आवेदन परेको छैन । हालसम्म निस्कासन भएका वैदेशिक रोजगार बचतपत्रमा माग गरेको भन्दा औसत ५.२ प्रतिशत रकमका लागि मात्रै आवेदन परेको राष्ट्र बैंकको तथ्यांक छ ।