इन्टरनेशनल लिजिङ्ग एण्ड फाइनान्स (आईएलएफसी) लाई खरिद गरेको सिभिल बैंकको सेयर कारोबार खुलेको छ । आईसीएफसीसँगको खरिद प्रक्रिया सकेर केही दिन अघि मात्रै एकीकृत कारोबार सुरु गरेको सिभिलको सेयर कारोबार मंगलबारदेखि खुलेको हो । नेपाल राष्ट्र बैंकबाट शेयर कारोबार फुकुवा गराउने पत्र प्राप्त भएको र नेप्सेमा पनि सोही व्यवहोरा पुगेका कारण मंगलबारदेखि शेयर कारोबार खुल्ने भएको बैंकले जनाएको छ ।
राष्ट्र बैंकको निर्देशनपछि स्वाप रेसियो १०० ः ७४.७२ कायम भएको छ । जसअनुसार, एक सय कित्ता सेयर हुने सिभिल बैंकका शेयरधनीले एक सय कित्ता तथा एक सय कित्ता शेयर हुने आईएलफसीका शेयरधनीले ७४.७२ कित्ता शेयर पाउनेछन् ।
आइएलएफसीलाई गाभेपछि सिभिल बैंकको चुक्ता पूँजी ५ अर्ब रुपैंयाभन्दा माथि पुगेको छ । बैंकले २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पूँजी भएको युनिक फाइनान्स, २२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी भएका हामा मर्चेन्ट एण्ड फाइनान्स पनि खरिद गर्ने सम्झौता गरिसकेको छ ।



