Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

लक्ष्मी लघुवित्तको एघारौं वार्षिक साधारण सभा सम्पन्न

२०७९ फाल्गुन ३० गते

बैंकिङ खबर/ लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा बसेको एघारौं वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आ.व. २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

कम्पनीले २०७९ आषाढ मसान्तमा कायम रहेको चुक्ता पूंजी रु.३८ करोड ४० लाख ५४ हजारको ५ प्रतिशत नगद लाभांश ( कर समेत ) र १५ प्रतिशत वोनश शेयर गरि कूल २० प्रतिशत लाभांश पारित गरेको छ । वोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु. ४४ करोड १६ लाख ६२ हजार १ सय पुग्नेछ ।

सभाबाट संचालक समितिमा समूह “ख” सर्वसाधारण शेयरवालाको प्रतिनिधित्व गर्ने संचालक पदमा २ जना डा.गणेश भट्टराई र श्रीमति सविना उपाध्याय पुनः निर्विरोध निर्वाचित हुनु भएको छ । साथै, अन्य इजाजतपत्र प्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका ब्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्ताव लाई समेत निरन्तरता प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट मिति २०६८ फाल्गुण २३ गते वित्तीय कारोवार गर्न इजाजतपत्र प्राप्त यस संस्थाले २०६९ जेष्ठ २२ गते नुवाकोटको बट्टारबाट लघुवित्त कारोवार शुरु गरेकोमा हाल आएर देशभर ५६ जिल्लाहरुमा ९० वटा शाखा कार्यालयहरु मार्फत १ लाख भन्दा बढी ग्राहक सदस्यहरुलाई प्रत्यक्ष सेवा पुर्‍याएको छ ।

विभिन्न प्रदेशमा ३ वटा प्रादेशिक कार्यालयहरु समेत स्थापना गरिएको छ । त्यस्तै गरी संस्थाले २०७९ माघ मसान्त सम्म ६ अर्ब ९२ करोड कर्जा लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट २ अर्ब ४७ करोड बचत संकलन गरेको छ ।