नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले चार वटा विकास बैंकलाई गाभ्ने भएको छ । बैंकले सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रस्ट्रक्चर डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकलाई गाभेर अबको एक महिनाभित्र एकीकृत कारोबार थाल्ने गरी गृहकार्य अघि बढाएको छ । मर्जरको अन्तिम स्विकृतीका लागि संयुक्त मर्जर समितिले राष्ट्र बैंकमा निवेदन दिइसकेको छ । स्वाप रेसियो पहिले नै टुंगो लागिसकेकाले राष्ट्र बैंकबाट स्विकृती पाउनेवित्तीकै बाँकी आवश्यक प्रक्रिया पूरा गरी एकीकृत कारोबार थाल्ने तयारीमा बैंकहरु छन् ।
यी पाँच संस्था विगत एक वर्षदेखि मर्जर प्रक्रियामा छन् । सुरुमा कुमारी बैंक समेत एनसीसँग मर्जरमा जाने निर्णय भएको थियो । यसलाई आजसम्मकै ठूलो मर्जर मानिएको थियो । यद्यपि, कुमारीले बिचैमा साथ छोडेर आफैँ आठ अर्ब पुँजी पुर्याउने योजना अघि बढीसकेको छ । बाँकी पाँच संस्थाले भने सम्भव भएसम्म मंसिरको पहिलो सातासम्ममा नै एकीकृत कारोबार सुरु गर्ने गरी तयारीलाई तीव्र पारेका छन् ।
यी पाँच संस्थाबीचको मर्जरपश्चात बन्ने संस्थाको चुक्तापुँजी पाँच अर्ब ६६ करोड रुपैयाँ हुनेछ । राष्ट्र बैंकको निर्देशनअनुसार अबको आठ महिनाभित्रमा एनसीसीले दुई अर्ब ३४ करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ । यसका लागि बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर जारी गर्ने योजना बनाएको छ । साथै, मर्जरपछि कायम हुने चुक्तापुँजीबाट ५० देखि ९० करोडसम्मको हकप्रद सेयर जारी गर्ने योजना बैंकको छ ।



