
बैंकिङ खबर/ हरेक साताको अन्तिम दिन शुक्रबार बैंकिङ खबर डटकमले साताभरिका बैंकिङ समाचारहरुलाई एउटै पानामा समेट्दै आइरहेको छ । यस साता पनि बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विभिन्न गतिविधिहरु भए ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी विभिन्न समाचार तथा गतिविधिहरुलाई सञ्चार माध्यमहरुले महत्वका साथ प्रकाशन तथा प्रशारण गरे । यो साता राष्ट्र बैंकले ल्याएको विभिन्न नीतिले बढी चर्चा पायो । समग्रमा, साताको सुरुवातदेखि बैँक तथा वित्तीय क्षेत्रमा भएका प्रमुख गतिविधिहरु यहाँ प्रस्तुत गरिन्छ ।
ब्याजदर घटाउने बैंकर्स संघको निर्णय
नेपाल बैंकर्स संघले कर्जाको ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार बसेको संघको बैठकले ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने घोषणा गरेको छ । हाल बैंकहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा लगानी गर्दै आएका थिए। अब भने ५ प्रतिशतभन्दा बढी प्रिमियम नलिने निर्णय गरेको बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बताए।
अहिले धेरै बैंकहरुको आधार दर १० प्रतिशतको हाराहारीमा छ। यसअनुसार बैंकहरुको ब्याजदर अधिकतम १५ प्रतिशतसम्म हुने भएको छ। बैशाखदेखि आधार दर अझै घट्ने हुँदा कर्जाको ब्याजदर अझै घट्ने छ।
यस्तै संघले बचत खाताको ब्याजदर पनि केहि घटाउने निर्णय गरेको छ। बचतको ब्याजदर ०।४२ प्रतिशत विन्दुले घटाउने निर्णय गरेको हो। अब बचतको ब्याजदर ६ देखि ८ प्रतिशतसम्म हुने छ।
यस्तै कल निक्षेपको ब्याजदर भने घटाएर ३ प्रतिशतमा झारिएको छ। संघको बैठकले मुद्दती निक्षेपको ब्याजदर भने तत्काल नघटाउने निर्णय गरेको छ।
बैंक, वित्त संस्था र कर्मचारीको सुरक्षालाई ध्यान दिन गृहको परिपत्र
गृह मन्त्रालयले बैंक तथा वित्त संस्था र ती क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र जारी गरेको छ।
बैंकवित्त संस्थाका कमचारीमाथि दुर्व्यवहार भएको र सुरक्षाको चुनौती समेत रहेको गुनासो बढेपछि मन्त्रालयले शुक्रबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेर सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको हो।
यस अघि नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले सुरक्षा प्रत्याभूति गराउनका लागि गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका थिए।
मार्जिन कारोबार सुविधाका लागि ८७ कम्पनी योग्य
नेपाल स्टक एक्सचेन्ज लिमिटेडले मार्जिक कारोबारका लागि योग्य कम्पनीहरूको सूची सार्वजनिक गर्दै हाल सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको जनाएको हो।
त्यस्तै तारागाउँ होटल रिजेन्सी, नेपाल पुनबीमा कम्पनी लिमिटेड, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट पनि मार्जिन कारोबारका लागि योग्य कम्पनीहरूको सूचीमा रहेका छन्।
थप नयाँ शाखा खोल्न ११ ब्रोकर हाउसलाई अनुमति
यसैसाता नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप नयाँ शाखा खोल्न ११ ब्रोकर हाउसलाई अनुमति दिएको छ । सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार ११ ब्रोकर कम्पनीलाई थप २० वटा नयाँ शाखा खोल्न अनुमति प्रदान गरिएको हो।
सेबोनले सबैभन्दा धेरै ६ वटा नयाँ शाखा खोल्न भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई अनुमति दिएको छ। भृकुटीले वीरगन्ज (पर्सा), धुलिखेल (काभ्रे), वीरेन्द्रनगर (सुर्खेत), बर्दिबास (महोत्तरी), बेनी (म्याग्दी) र चरीकोट (दोलखा)मा शाखा खोल्न अनुमति पाएको छ।
यसैगरी भिजन सेक्युरिटिजले ३ स्थानमा नयाँ शाखा विस्तारको अनुमति पाएको छ। अब भिजनले चन्द्रौटा (कपिलवस्तु), इलाम बजार (इलाम) र टीकापुर (कैलाली)मा शाखा खोल्नेछ।
निभ सेक्युरिटिज र सुन्धारा सेक्युरिटिजले २–२ वटा नयाँ शाखा खोल्ने अनुमति पाएका छन्। निभले हरिवन (सर्लाही) र अत्तरिया (कैलाली)मा तथा सुन्धाराले सिमरा (बारा) र पर्सा (चितवन)मा नयाँ शाखा विस्तार गर्नेछन्।
यस्तै कालिका सेक्युरिटिजले बर्दिबास (महोत्तरी), त्रिशक्ति सेक्युरिटिजले महेन्द्रनगर (कञ्चनपुर), इम्पेरियल सेक्युरिटिजले धादिङबेसी (धादिङ), थ्राइभ ब्रोकरेजले दमौली (तनहुँ), क्रियटिभ सेक्युरिटिजले तानसेन (पाल्पा), आशुतोष सेक्युरिटिजले मिर्चैया (सिराहा) र मिडास स्टक ब्रोकिङले गोरखा बजार (गोरखा)मा शाखा खोल्न अनुमति पाएका छन्।
आईपीओ निष्काशन
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।




