Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुरानो ऋण भएको व्यवसायीको ब्याज वैशाखबाट घट्ने

२०७९ फाल्गुन २५ गते


बैंकिङ खबर/ पुराना ऋणीको ब्याज वैशाखबाट घट्ने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले चैतमा ब्याजदर घटाउने निर्णय गरेको छ ।

राष्ट्र बैंकले पुरानो कर्जाको ब्याजदर परिवर्तन गर्दा तीन महिनाको औषत आधार दर लिएर मात्र गर्न सकिने व्यवस्था गरेको छ । सोही कारण पुराना ऋणीको ब्याज वैशाखबाट घट्ने भएको हो ।

यस्तै बैंकको ब्याजदर चर्को भएको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलित भइरहेको बेला बैंकहरुले भने ब्याजदर केहि घटाएका छन् । आगामी चैतबाट लागू हुने गरी बैंकहरुले संकलन गर्ने निक्षेप र जारी गर्ने कर्जा दुवैको ब्याजदर घटाउने भएका हुन् ।

नेपाल बैंकर्स संघको बिहीबार बिहान बसेको बैठकले निक्षेप र कर्जाकै ब्याजदर घटाउने निर्णय गरेको हो।
बैठकले चैतमा साधारण बचतको ब्याजदर ०.४ प्रतिशत र कर्जाको प्रिमियमदर १ प्रतिशतले घटाउने निर्णय गरेको छ । मुद्दति निक्षेपको ब्याजदर भने परिवर्तन हुँदैन।

अब बैंकहरूले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन्। हाल यसमा ६.४२ प्रतिशतदेखि ८.४२ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्। बैंकहरूले मुद्दति निक्षेपमा साविककै ११.४१ प्रतिशत ब्याजदर दिइरहेका छन्।

त्यस्तै कर्जामा हाल लिँदै आएको अधिकतम ६ प्रतिशतसम्म प्रिमियम ब्याजदर घट्ने भएको भएको छ । बैंकहरूले अधिकतम ५ प्रतिशत प्रिमियम जोडेर कर्जामा ब्याज लिनेछन्।

बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले यो निर्णयसँगै १÷२ प्रतिशत बिन्दुसम्म कर्जाको ब्याजदर घट्ने बताए । अब लगभग एक चौथाई निक्षेपको लागत घट्ने छ । माघमा बैंकको आधार दर पनि घटेर १०.२ प्रतिशत छ ।