Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको ब्याजदर घटाउने तयारी, बिहीबार एनबीएको बैठक

२०७९ फाल्गुन २४ गते

बैंकिङ खबर/वाणिज्य बैंकहरुले चैतमा ब्याजदर घटाउने तयारी गरेका छन् । यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को बिहीबार बिहान ९ः३० बजे बैठक बस्दैछ । सोही बैठकले चैतमा ब्याजदर घटाउने निर्णय गर्ने सम्भावना छ।

बैंकरका अनुसार वाणिज्य बैंकहरुबीच फागुनको तुलनामा चैतमा ०.५ प्रतिशतको विन्दुदेखि १ प्रतिशतको विन्दुले ब्याजदर घटाउने विषयमा सहमति हुन सक्ने एक बैंकरले बताए । ब्याजदर उच्च हुँदा कर्जाको माग कम हुनु र निक्षेप थपिँदै जानुले चैतमा ब्याजदर घटाउने विषयमा बैंकहरुबीच अनौपचारिक रुपमा सहमति भइसकेको पनि ती बैंकले बताए।

वाणिज्य बैंकहरुबीच गत फागुनमा ब्याजदर स्थिर राख्ने सहमति भएको थियो। जसअनुसार व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११ प्रतिशत, रेमिट खाताको चाहिँ १२ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत कायम गरिएको थियो।

यदि एनबीएको बैठकले १ प्रतिशतको विन्दुले ब्याजदर घटाउने निर्णय गरेमा चैतमा व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १० प्रतिशत, रेमिट खाताको चाहिँ ११ प्रतिशत र ३ महिना वा सोभन्दा बढी अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर ८ प्रतिशत कायम हुनेछ।