Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सीमित व्यापारीको कब्जामा कर्जाको चंगुल : दबाव झेल्दै बैंकिङ क्षेत्र

२०७९ फाल्गुन १७ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरु यतिबेला धमाधम मर्जरमा गएका छन् । मर्जरसँगै बैंकहरु व्यापारिक घरनाको कब्जामा आइ पुगेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई मर्जरमा जान प्रोत्साहनको नीति लिएपछि बैंकहरू मर्जरमा गएका हुन् । कुनै बेला ३२ वटासम्म वाणिज्य बैंक पुगेको अवस्थामा हालसम्म आइपुग्दा २१ वटामा झरेको छ, भने अझै वाणिज्य बैंकहरु घट्ने क्रममा छन् ।

नेपालमा राष्ट्रिय स्तरकै कारोबार गरेर नाम कमाइरहेका बैंकहरु नै वाणिज्य बैंकमा गाभिएर वा अर्को राष्ट्रिय स्तरको विकास बैंकमा गाभिएर हराउन पुगेका छन् । जसका कारण वाणिज्य बैंकहरु व्यापारिक घरनाको कव्जामा आइ पुगेको छ । यसरी बैंकहरु व्यापारिक सीमित घरानाको कब्जामा आइ रहँदा ऋण प्रवाह पनि सोही अनुसार भएको पाइएको छ । हालसम्म प्रवाह भएका कर्जामध्ये कुल ७० प्रतिशत ऋण ठूला व्यवसायीले लगेका छन् ।

नेपाल राष्ट्र बैंकको चालु आवको पुससम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.४९२ अर्ब ६३ करोड (१२.१ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ ।

०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरुको ४.९ प्रतिशतले र वित्त कम्पनीहरुको१.६ प्रतिशतले बढेको छ ।

२०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६७.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९/८० को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ३.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.४ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ३.१ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.२ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.९ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ४.६ प्रतिशतलेर उपभोग्य क्षेत्रतर्फको कर्जा १.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.७ प्रतिशतले, अधिविकर्ष कर्जा ८.३ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ४.० प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १.४ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ८.६ प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा ७.० प्रतिशतले र हायर पर्चेज कर्जा ८.७ प्रतिशतले घटेको छ ।

यी हुन् सबैभन्दा बढी ऋण लिने व्यापारी समूह

नेपाल राष्ट्र बैंकका अनुसार सबैभन्दा बढी ऋणको हिस्सा लिनेमा जगदम्बा ग्रुपको रहेको छ । योसँगै एनसीएल, भाटभेटेनी ग्रुप, आइएमई ग्रुप, सीजी ग्रुप, विशाल ग्रुप, पञ्चकन्या ग्रुप, गोल्छा ग्रुप, लक्की ग्रुप, ज्योती ग्रुप, सिइ ग्रुप, एमए डब्लु इन्टरप्राइजेज, सम्राट र उरारका अन्तर्गतका विभिन्न कम्पनीहरु रहेका छन् ।

त्यस्तै ग्लोबल हाइड्रो, गोयल गु्रप, जगदम्बा मोर्टस, अग्नी ग्रुप र दुगर्ड ग्रुपको पनि निकै ठूलो हिस्सा छ । बैंक तथा वित्तीय संस्था ठूला व्यवसाय र पहुँच वालाकै कब्जामा रहेकाले पनि साना एवं मझौला व्यवसायीले कर्जा पाउनै नसक्ने अवस्थामा रहेको छ भने पाए पनि चर्को व्याजदरमा लिन बाध्य भएका छन् ।

सीमित घरानालाई बढी ऋण : अध्ययन

नेपालको बैंकिङ प्रणाली निकै ठूलो दबावमा रहेको एक अध्ययनले समेत देखाएको छ । केही मुठ्ठीभर व्यक्ति र समूहमा मात्रै बैंकहरुले लगानी गरेको भन्दै सार्वजनिक रुपमा आलोचना भइरहेका बेला त्यसलाई सत्य सावित गर्ने गरी अध्ययन रिपोर्ट सार्वजनिक भएको छ ।

नेपालको विश्वसनीय क्रेडिट रेटिङ कम्पनीको रुपमा परिचित इक्रा नेपालले सार्वजनिक गरेको प्रतिवेदन अनुसार प्रायः सबैजसो बैंकहरुले केही निश्चित व्यवसायिक घराना र व्यक्तिहरूलाई मात्रै ऋण लगानी गरेका कारण उनीहरू समस्यामा पर्दा बैंकिङ प्रणाली नै अप्ठ्यारोमा पर्ने चिन्ता सो प्रतिवेदनमा गरिएको छ ।

बैंकिङ कर्जाको गुणस्तर बिग्रिएको भन्दै कुनै ऋणीलाई अप्ठ्यारो पर्नासाथ त्यसले बैंकहरुको खराब कर्जामा ठूलो वृद्धि देखिन सक्ने सो प्रतिवेदनको निष्कर्ष छ । जसमा लेखिएको छ, ‘यस्तो दबावको संकेत बैंकहरुको खराब कर्जामा देखिन थालेको छ ।’ एक महिना अघिसम्मको तथ्यांकलाई विश्लेषण गर्दै सो प्रतिवेदनमा राष्ट्र बैंकले निकै कडाइ गर्दा समेत कतिपय ऋणको गुणस्तर निकै कमजोर रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

इक्राको रिर्पोर्टमा बैंकहरुले ऋण लगानी गर्ने क्रममा गरेका कमजोरी नै बैंकिङ क्षेत्रको ठूलो समस्याको रुपमा औँल्याइएको छ । जसमा ब्याज मात्रै तिर्ने ऋणीलाई समेत ऋण थपिदिने काम बैंकहरुले गरिरहेको, छोटो अवधिका नवीकरणीय ऋण दिएर कतिपय निश्चित व्यापारीलाई सधैँ सहजता उपलब्ध गराएको जस्ता कमजोरीहरू बैंकहरुमा रहेको औँल्याइएको छ ।

व्याज मात्रै तिर्ने ऋणीलाई समेत असल ऋणीका रुपमा बैंकहरुले राख्ने तथा उनीहरूको स्थिति र क्षमताबारे अध्ययन नगर्ने जस्ता कमीकमजोरी बैंकहरुले गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीहरूले लगानी गरेका ऋणका कारण आफू कालोसूचीमा परिँदैन भन्ने जानेर ठूला ऋणीहरुले सहकारीको ऋण समेत ठूलो मात्रामा लिइरहेका इक्राको अध्ययनमा देखिएको छ । यस सन्दर्भमा सर्वाधिक महत्त्वपूर्ण पक्ष यो छ की बैंकहरूका ठूला ऋणीहरू नै सहकारीका समेत ठूला ऋणका रुपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

यसरी एउटै व्यक्ति तथा समुहमा विभिन्न वित्तीय संस्थाहरूबाट अधिक कर्जा परवाह हुँदा अत्यधिक जोखिम बढेको इक्राको प्रतिवेदनमा उल्लेख छ ।

बढ्दो खराब कर्जा

सीमित व्यापारीको कब्जामा कर्जाको हिस्सा बढ्दा बैंकवित्तको खराब कर्जा समेत बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २२ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका ५६ वटा संस्थाहरुले कुल ४८ खर्ब ४० अर्ब १९ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । जसमध्ये औषतमा दुई दशमलव ६३ प्रतिशत कर्जा खराव देखिएको राष्ट्र बैंकको भनाई छ ।

गत आवको सोही अवधिमा भने २७ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक र १७ वटा फाईनान्स सहितका ६१ वटा संस्थाहरुले कुल ४६ खर्ब ७५ अर्ब ८१ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औषतमा एक दशमलव ३१ प्रतिशत मात्र कर्जा खराव देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार चालु आवको पुस मसान्तसम्ममा वाणिज्य बैंकहरुले मात्र ४२ खर्ब ८४ अर्ब ७१ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ४९ प्रतिशत कर्जा खराब देखिएको छ । गत आवको सोही अवधिमा भने वाणिज्य बैंकहरुले ४१ खर्ब ५० अर्ब ३७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव १८ प्रतिशत कर्जा खराब देखिएको थियो । विकास बैंकहरुले भने चालु आवको पुस मसान्तसम्ममा चार खर्ब ६२ अर्ब ४४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा दुई दशमलव ८९ प्रतिशत कर्जा खराब देखिएको छ ।

गत आवको सोही अवधिमा विकास बैंकहरुले चार खर्ब ३८ अर्ब ३७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा एक दशमलव ४२ प्रतिशत मात्र कर्जा खराब देखिएको थियो ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुमा भने चालु आवको पछिल्लो छ महिनाको अवधिमा ९३ अर्ब चार करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव ८२ प्रतिशत कर्जा खराव देखिएको छ । गत आवको सोही अवधिमा भने फाईनान्स कम्पनीहरुले ८७ अर्ब सात करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा सात दशमलव शुन्य पाँच प्रतिशत कर्जा खराब देखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।