दशैँ सकिएपछि पहिलोपटक सेयर बजार विहीबार उकालो लाग्यो । नेप्से परिसूचक ६.५५ अंकले बढेर १७९४.४४ अंकमा पुग्यो । गत साता दशैँको सार्वजनिक विदा परेकाले सेयर कारोबार भएन । अघिल्लो साताको अन्तिम दिन सेयर बजार १८१९.८८ अंकमा थियो । दशैँ नजिकिँदै गर्दा सेयर बजारमा पनि सुधार आइरहेको थियो । यद्यपि, दशैँ सकिएर बजार खुलेको पहिलो दिनदेखि नै सेयर बजारम गिरावटको क्रम देखियो । आइतबार १८०३ अंकमा झरेको बजार सोमबार १०.३८ अंकले घट्यो भने मंगलबार सुधारिँदै सामान्य ०.६३ अंकको गिरावटमा सीमित हुन पुग्यो । बुधबार ४.८४ अंकले घटेको नेप्से परिसूचक अन्तिम दिनमा आएर हरियो भयो । समग्रमा साताभरमा नेप्से परिसूचक २५.४४ अंकले घट्यो ।
नेप्सेले वार्षिक नविकरण शूल्क नबुझाएका कम्पनीहरुको कारोबार रोक्का गराएपछि सेयर कारोबार प्रभावित बन्न पुग्यो । कारोबार रोकिए कम्पनीहरु शूल्क बुझाएर बजारमा फर्किएपछि साताकाृ अन्ततिर कारोबार रकम पनि सुधारिँदै गएको छ । साताको पहिलो दिन ६० करोडको कारोबार भएको बजारमा सोमबार ६३ करोडको कारोबार भएको थियो । मंगलबार कारोबारमा उल्लेख्य गिरावट आई ५० करोडमा सीमित भयो भने बुधबार ५६ करोडको कारोबार भयो । साताको अन्तिम दिन कारोबार रकम ७० करोडमा उक्लियो । जसअनुसार साताभरमा नेपाल स्टक एक्सचेन्जमा तीन अर्ब एक बरोड ४० लाख सात हजार चार सय ४६ रुपैयाँ बराबरको पुँजी परिचालन भयो ।
यो साता कुमारी बैंकको सबैभन्दा धेरै कारोबार भयो । साताको चार दिन धेरै कारोबार गर्ने कम्पनीहरुको अग्रस्थानमा रहेको बैंकको साताभरमा ४० करोडको हाराहारीमा कारोबार भयो । त्यस्तै, बैंक अफ काठमाण्डू लुम्बिनी, प्रभु इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, ज्योति विकास बैंक, एभरेष्ट बैंक, सानिमा बैंक लगायतको पनि राम्रो कारोबार भयो । रिलायबल माइक्रोफाइनान्स, ज्योति विकास बैंक, कामना विकास बैंक लगायतले आफ्नो सम्पत्ति बढाएका छन् । गुमाउनेमा रिलायन्स लोटस फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स लगायतका लगानीकर्ता छन् ।
यो साता नेपाल स्टक एक्सचेन्जमा झन्डै ४१ लाख कित्ता सेयर थपियो । साताको बुधबार २२ लाख ५१ हजार चार सय ५३ कित्ता बोनस सेयर र १८ लाख ४० हजार कित्ता हकप्रद सेयर सूचिकृत भए । यो साता नेप्सेमा सूचिकृत हुनेमा रिलायबल डेभलपमेन्ट बैंकको सात लाख १६ हजार आठ सय ९३ कित्ता र सांग्रीला डेभलपमेन्ट बैंकको १५ लाख ३४ हजार पाँच सय ६० कित्ता बोनस सेयर छन् । त्यस्तै, सांग्रीलाको १८ लाख ४० हजार कित्ता हकप्रद सेयर पनि बुधबार नै नेप्सेमा सूचिकृत भएको हो ।



