Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

६ महिनाको अवधिमा झण्डै ३१ खर्ब बराबरको तरलता प्रवाह

२०७९ माघ २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा झन्डै ३१ खर्ब रुपैयाँबराबरको तरलता प्रवाह गरेको छ । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागबाट जारी चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रवेदनले यस्तो देखाएको छ।

समीक्षा अवधिमा राष्ट्र बैंकबाट रिपोमार्फत रु. ३ खर्ब १८ अर्ब ९ करोड, सोझै खरिद बोलकबोलमार्फत रु. ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत रु.२६ खर्ब ९२ अर्ब ८३ करोड गरी कुल रु.३० खर्ब ९४ अर्ब ७६ करोड खुद तरलता प्रवाह भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणहरुमार्फत खुद रु.३३ खर्ब ६ अर्ब ९६ करोड तरलता प्रवाह गरिएको थियो।

समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ७६ करोड खुद खरिद गरी रु.३ खर्ब ५८ अर्ब ९० करोड तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ६७ करोड खुद खरिद गरी रु. ८० अर्ब २६ करोड तरलता प्रवाह गरिएको थियो।

यो ६ महिनाको अवधिमा अमेरिकी डलर २ अर्ब २८ करोड बिक्री गरी रु.२ खर्ब ९६ अर्ब २२ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब १८ करोड बिक्री गरी रु.२ खर्ब ६० अर्ब ७ करो बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो।

यसैबीच चालु आर्थिक वर्ष २०७९–८० को ६ महिनामा वाणिज्य बैंकहरुको रु.१८ खर्ब ४३ अर्ब ८ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक)को रु.१ खर्ब ८२ अर्ब ४ करोड गरी कुल रु.२० खर्ब २५ अर्ब १२ करोडको अन्तरबैंक कारोबार भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.१६ खर्ब २६ अर्ब ४ करोड र अन्य वित्तीय संस्थाहरुको रु.२ खर्ब १३ अर्ब ५० करोड गरी कुल रु.१८ खर्ब ३९ अर्ब ५४ करोडको अन्तरबैंक कारोबार भएको थियो। यस हिसाबले बैंक तथा वित्तीय संस्थाहरुको अन्तरबैंक कारोबार बढेको छ।