Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर घट्दो क्रममा छः गभर्नर

२०७९ माघ २१ गते

बैंकिङ खबर/राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले कर्जा र निक्षेपको ब्याजदर घट्दो क्रममा रहेको र केही महिनामै ग्राहकले त्यसको अनुभव गर्ने बताएका छन् । ‘लुम्बिनीको सामर्थ्य’ कार्यक्रमको तेस्रो सत्र ’अर्थतन्त्रका अवरोध’ विषयक अन्तरक्रियामा शनिबार गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

अर्थतन्त्रका बाह्य सूचकहरुका सुधार भएको, तरलताको अवस्थामा सुधार भएको, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकहरूको कर्जा निक्षेपबीचको अन्तर (स्प्रेड) घटाएर ४ प्रतिशतमा झरेकोलगायत कारण अहिले ब्याजदर घट्दो दरमा रहेको उनले बताए ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा स्थिर ब्याजदरको लिने कि परिवर्तनशील ब्याजदरको भन्ने छनौटको अवसर भए पनि ग्राहकले त्यो नगरिदिँदा बैंकले धेरै ब्याजदर बढाए भन्ने गुनासो आउने गरेको उनले बताए । ‘ग्राहकसँग छनौटको पूर्ण अवसर छ । तर, उनीहरूले त्यो विचार नगरी एक शीर्षकमा लिएको कर्जा अर्को क्षेत्रमा लगानी गरिरहेका छन्,’ उनले भने, ‘ग्राहकका यस्ता गतिविधिले समस्या निम्त्याएको हो । यो प्रवृति रोक्न राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन कार्यान्वयनमा ल्याएको हो ।’

बैंकहरूभन्दा धेरै मुनाफा अरु क्षेत्रमा रहेकाले बैंकले नाफामात्र कमाउँछन् भनेर सामान्यीकरण गर्न नहुने गभर्नर अधिकारीले बताए । ‘बैंकहरूले नाफामा मात्र ध्यान नदिउन भन्नकै लागि राष्ट्र बैंकले स्प्रेडलगायतको व्यवस्था गरेको छ,’ उनले भने, ‘यद्यपि लगानीका हिसाबले बैंकहरूको प्रतिफल घट्दो क्रममा छ ।’