
बैंकिङ खबर/२८ दिने ट्रेजरी बिलको ब्याजदर न्यून विन्दुमा झरेको छ । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पूँजीको अवस्था केही सहज भएपछि अल्पकालीन ऋणपत्र (ट्रेजरी बिल) को ब्याजदर चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको हो।
राष्ट्र बैंकले गत मंगलबार जारी गरेको २८ दिने ५ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिलमा मागभन्दा बढी आवेदन परेसँगै ब्याजदर पनि न्यून विन्दुमा आएको हो। उक्त बिलमा औसतमा ५.९००१ प्रतिशत डिस्काउन्ट रेट कायम भएको छ।यसमा ११ बैंक तथा वित्तीय संस्थाले ६० वटा आवेदनमार्फत ९ अर्ब ४० करोड रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५.३७०३ प्रतिशत र अधिकतम ७.४४९८ प्रतिशत ब्याजदर माग गरेका थिए।
केन्द्रीय बैंकले यसअघि पुस २६ गते जारी भएको २८ दिने ट्रेजरीको औसत ब्याजदर ७.९३३९ प्रतिशत रहेको थियो। गत मंगलबार २८ दिनेसहित ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिल जारी भएको थियो। जसमा ९१ दिनका लागि जारी भएको ५ अर्ब १० करोड रुपैयाँबराबरको ट्रेजरीमा औसतमा ९.१८७९ प्रतिशत डिसकाउन्ट रेट कायम भएको छ। यसभन्दा अघि माघ १० गते जारी भएको ९१ दिने ट्रेजरीको औसत ब्याजदर ९.८१७२ प्रतिशत कायम भएको थियो।
त्यसैगरी १८२ दिनका लागि जारी भएकोे ५ अर्ब रुपैयाँ ट्रेजरी बैंक तथा वित्तीय संस्थाले औसत ब्याजदर १०.३६८४ प्रतिशतमा स्वीकार गरेका थिए भने ३६४ दिने ६ अर्ब रुपैयाँबराबरको ट्रेजरी पनि १०.३७१५ प्रतिशत ब्याजदरमा स्वीकार गरिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।



