
बैंकिङ खबर/ विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न कम्पनीको न्यूनतम चुक्तापुँजी २५ करोड रुपैयाँ हुनुपर्ने भएको छ। नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०७९’ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। योसँगै यसअघिको ‘नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावली, २०६७’ पनि राष्ट्र बैंकले खारेज गरेको छ।
नयाँ विनियमावलीअनुसार अब विनियम ४ को उपविनियम (२) बमोजिम निवेदन दिने कम्पनीले विप्रेषणको कारोबार गर्ने इजाजतपत्र प्राप्त गर्न न्यूनतम २५ करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्नेछ। यसबाहेक अन्यको हकमा न्यूनतम १० करोड रुपैयाँ चुक्तापुँजी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
यस विनियमावली लागू हुनुपूर्व इजाजतपत्र लिएका विप्रेषण कम्पनीले तोकिएको चुक्तापुँजी पुर्याएपश्चात मात्र विनियम ११ बमोजिमका कार्य गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै यो विनियमावली लागू हुनुपूर्व इजाजतपत्र लिएका विप्रेषण कम्पनीले तोकिएको चुक्तापुँजी २०८५ असार मसान्तसम्म पुर्याउनुपर्नेछ।
उपविनियम (१), (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए पनि विप्रेषण कम्पनीले २०८१ असार मसान्तभित्र न्यूनतम रु. ३ करोड, २०८२ असार मसान्तभित्र न्यूनतम रु. ४ करोड, २०८३ असार मसान्तभित्र न्यूनतम रु. ६ करोड, २०८४ असार मसान्तभित्र न्यूनतम रु. ८ करोड र २०८५ असार मसान्तभित्र न्यूनतम रु. १० करोड चुक्तापुँजी पुर्याउनुपर्नेछ। यसैगरी यस विनियमावलीअनुसार इजाजतपत्रप्राप्त विप्रेषण कम्पनीहरु गाभ्ने÷गाभिने तथा प्राप्तिमा सहभागी हुन सक्नेछन्।
हेर्नुहोस् पूर्णपाठ




