
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गरेको साना कर्जाको किस्ता असुलीमा समेत समस्या देखिएको पाइएको छ । मंगलबार नेपाल बैंकर्स एसोसिएसनले आयोजना गरेको चालु आर्थिक वर्षको ६ महिना अवधिमा बैंकिङ क्षेत्रको अवस्था विषयक अन्तरक्रियामा बैंकरहरूले यस्तो गुनासो गरेका हुन् । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले इतिहासमै पहिलो पटक वाणिज्य बैंक नोक्सानमा गएको अवस्था देखिएको बताए । उनले साना तथा मझौला कर्जाहरूको समेत ऋण असुल नहुने अवस्था आएको बताए ।
चालु आर्थिक वर्षको ६ महिनामा वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैंकरूमध्ये कृषि विकास बैंक १२ करोड रूपैयाँ नोक्सानमा गएको छ। यस बैंकको खराब कर्जा समेत बढेर ४.८ प्रतिशत पुगेको छ। केसीले संसारभर नै आर्थिक गतिविधिमा सुस्ति आएको कारण नेपालमा समेत त्यसका बाछिटा देखिन थालेको बताए। यही कारण वाणिज्य बैंकहरूको औसत खराब कर्जाको दर बढेपनि अन्य मुलुकहरूको तुलनामा भने कमै रहेको उनले बताए ।
बैंकर संघका उपाध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले देखिएको खराब कर्जा व्यवस्थापन गर्न सकिने तहमै रहेको बताए ।
४२ खर्ब ७८ अर्ब रूपैयाँ कर्जा लगानी गरेका बैंकहरूको खराब कर्जा औसतमा २.२९ प्रतिशत पुगेको छ। अर्थात्, ९७ अर्ब ९६ करोड रूपैयाँ बराबरको कर्जाको सावाँ र किस्ता तीन महिनादेखि नउठेर खराब भएको हो। यसपटक बैंकहरूको नाफालागयतका वित्तीय सूचकहरू समेत प्रभावित भएको छ।
वाणिज्य बैंकहरूको नाफा गत चर आर्थिक वर्षकोभन्दा कम देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ३० अर्ब ८१ करोड नाफा रूपैयाँ कमाएका बैंकहरूको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३० अर्ब १९ करोड रूपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा भने बैंकहरूको नाफा ३४ अर्ब २१ करोड रूपैयाँ रहेको थियो।
बैंकहरूले नाफा मात्र कमाएको आरोप लाग्ने गरेको भएपनि यस्तो नभएको बैंकरहरूको दाबी छ। विगत ६ महिनामा बैंकहरूको ब्याज आम्दानी ६८ प्रतिशतले बढ्दा ब्याज खर्च भने ८४ प्रतिशतले बढेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए । उनले बैंकहरूले गत वर्षसम्म औसत १४.३ प्रतिशतसम्म लाभांश दिइरहेका थिए यो वर्ष १०.७६ प्रतिशत बराबर मात्र दिन सफल भएको पनि बताए ।
बैंकहरूको सेयरमा प्रतिफल (रिर्टन अन इक्विटि÷आरओइ) समेत आर्थिक वर्ष २०६९÷७० मा २४.४२ प्रतिशतसम्म रहेकोमा हाल ११.७३ प्रतिशतमा सीमित भएको छ। बैंकरहरूले कर्जाको ब्याजदर सामान्य वृद्धि हुन सक्ने समेत औल्याए। अहिले बैंकहरूको आधार दरमा ०.६० प्रतिशतले वृद्धि भएकोले यसको समायोजन गर्दा कर्जामा पनि सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको बताएका छन्।
तर, बैंकहरूसँग लागानी योग्य रकम पनि दुई खर्ब बराबर रहेकोले सबै कर्जाको ब्याजदर उही दरमा नबढ्न सक्ने संकेत समेत बैंकरहरूको छ। गत असोजसम्म औसत आधार दर १०.१८ प्रतिशत रहेकोमा हाल औसत १०.८ प्रतिशत हाराहारी छ ।




