Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निजी बैंकलाई मर्जरमा फोकस गरेको राष्ट्र बैंकले सरकारी बैंकलाई के गर्ला ?

२०७९ माघ १० गते

बैंकिङ खबर/ बैंक वित्तीय संस्थाहरु धमाधम मर्जरमा जान थालेका छन् । चालु आर्थिक वर्षको नौ महिनामा ८ वटा बैंकहरु एकापसमा गाभिएका छन् । एक वर्षअघिसम्म २७ वटा रहेका वाणिज्य बैंक रहेकोमा हाल आएर २२ वटामा सिमित भएको छ । विगतमा मुलुकमा ३ सय ३ वटासम्म बैंक तथा वित्तीय संस्था थिए ।

थपिने क्रम बढ्दै जाँदा वित्तीय स्थायित्व कायम हुन सकेन । यस्तो क्रमलाई रोक्न नेपाल राष्ट्र बैंकले गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु ग¥यो । पछिल्लो १८ वर्षको अवधिमा धेरै बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिमा जुटे। यसले बैंकको वित्तीय स्थायित्व सुदृढीकरण गर्ने नेपाल राष्ट्र बैंकको उद्देश्य केही हदसम्म सफल भएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो करिब १८ वर्षको अवधिमा १ सय ८३ वटा बैंक तथा वित्तीय संस्थाहरू मर्जर तथा प्राप्ति प्रक्रियामा जुटेर इजाजत खारेज भएर घटेका छन् । उक्त संख्यामा घट्दा २०७९ पुस २७ गतेसम्म कुल १ सय २० वटा सञ्चालनमा छन्। २०७० सालसम्ममा वाणिज्य बैंक मात्रै ३२ वटासम्म थिए । हालसम्ममा १० वटा घटेर २२ मा सीमित छन् । चालू आर्थिक वर्षको पुसमा मात्रै ८ वटा वाणिज्य बैंक मर्जर तथा प्राप्ति गरेर ४ वटा भएका छन् ।

यस्तो छ सरकारी बैंकको अवस्था

नेपालमा हाल सरकारी लगानीका तीन वटा बैंक सञ्चालनमा रहेका छन् । सञ्चालनमा रहेका तीन सरकारी बैंकमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् । सरकारी बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले २ अर्ब ७१ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ९१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा ४१.२८ प्रतिशतले बढेको छ। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ।

दोस्रो त्रैमाससम्म बैंकले ३ अर्ब ८३ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा पनि ५४.३५ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म बैंकले ६ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ४ अर्ब ५२ करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले ब्याज आम्दानी ३२.७९ प्रतिशतले बढेको छ। चुक्तापुँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार ६.०१ प्रतिशतले बढेर १६ अर्ब ८२ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा १५ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले २ खर्ब ८२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ खर्ब ५८ अर्बरुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १० अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) घटेर २.७९ प्रतिशत झरेकोछ। गत वर्ष यही अवधिसम्म एनपीएल ३.०६ प्रतिशत थियो। समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३७.०५ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस ३२.१५ रुपैयाँ रहेको थियो।

यस्तै कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कृषि विकास बैंक लिमिटेडको वित्तीय प्रदर्शन सन्तोषजनक रहेको छैन।
सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १२ करोड ८९ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६१ करोड रुपैयाँ रहेको छ।
दोस्रो त्रैमाससम्म बैंकलाई ११ करोड १५ करोड सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ८ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी ३ अर्ब ७४ करोड रुपैयाँ रहेको थियो। चुक्तापुँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ थोरै बढेर ११ अर्ब ९५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ११ अर्ब २१ करोड रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म बैंकले १ खर्ब ७२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ४.५२ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल २.०८ प्रतिशतमा सीमित रहेको थियो । यो हिसाबले एनपीएल ११७.३१ प्रतिशतले बढेको छ । सीडी रेसियो ८७.५४ प्रतिशत रहेको बैंकको आधार दर ११.०६ प्रतिशत रहेको छ । समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ४.४३ रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष यही अवधिमा ईपीएस १९.१० रुपैयाँ रहेको थियो।

बैंकको प्रतिसेयर नेटवर्थ २०९.८२ रुपैयाँ र तरलता अनुपात २४.१० प्रतिशत रहेको छ। ८६ वर्षअघि ८ लाख ४२ हजार रुपैयाँबाट सुरु भएको नेपाल बैंकको चुक्ता पुँजी अहिले १४.४० अर्ब पुर्याएको छ । प्रत्येक वर्ष सञ्चालन मुनाफा बढिरहेको छ । बैंकको जगेडा कोषमा २१.६८ अर्ब रुपैयाँ रहेको छ भने ३५ अर्ब बढी नेटवर्थ रहेको छ । यसरी अहिलेको वित्तीय अवस्थालाई हेर्दा केहि सरकारी बैंकहरु कमजोर रहेका छन् भने केहि सरकारी बैंकले निजी बैंकहरुलाई टक्कर दिइरहेको अवस्था छ ।

राष्ट्र बैंकले सरकारी बैंकलाई के गर्ला ?

राष्ट्र बैंकको निर्देशनात्मक मर्जरमा सरकारी बैंकहरु अहिले नपरेको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेल बताउँछन् । उनले भने,‘उहाँहरुले आफैले कमजोर अनुभव गरेर मर्जको प्रस्ताव ल्याउनुभयो भने राष्ट्र बैंकले एसेप्ट गर्न सक्छ । जसरी पहिले नेपाल वाणिज्य बैंकको अवस्था थियो । त्यस्तो अवस्था अहिले कुनै पनि बैंकको छैन । अहिले सरकारी बैंकहरु पनि धेरै नै सुधार भएर निजी क्षेत्रका बैंकहरु भन्दा केहि कमि छैन । यो अवस्थामा उनीहरु मर्जरमा जान सोचेको जस्तो देखिँदैन । उनीहरु कमजोर भएर राष्ट्र बैंकले प्रेसर दिने अवस्था पनि छैन ।’