Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

वित्तीय क्षेत्रका दुई हस्ति मन्त्रिमण्डमा नियुक्त

२०७९ माघ ३ गते

बैंकिङ खबर/ वित्तीय क्षेत्रका दुई हस्ति मन्त्रिमण्डलमा नियुक्त भएका छन् । एमालेको तर्फबाट लघुवित्त विज्ञ भगवती चौधरी र राष्ट्रिय स्वतन्त्रबाट रेमिट्यान्स विज्ञ डोल प्रसाद (डिपी) अर्याल मन्त्रीमा नियुक्त भएका छन् ।

भगवतीले महिला तथा बालबालिका मन्त्री पाएकी छन् भने अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छन् । उनीहरुसहित अन्य मन्त्रीहरुले मंगलबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्री र राज्यमन्त्रीलाई शपथ ग्रहण गराएकी छन् ।

को हुन् भगवती चौधरी

मंसिरमा भएको निर्वाचनमा चौधरीले सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधीसभा सदस्यमा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई हराएकी थिइन् । चौधरीलाई नेपालको वित्तीय क्षेत्रको एक हस्तीका रुपमा लिने गरिन्छ । सुनसरीको गढी गाउँपालिका औरावनीमा जन्मिएकी ५१ वर्षीया उनी साहसी नेतृको रुपमा परिचित छन् ।

महिला नेतृहरुको स्थानमा उनको नाम अग्रस्थानमा छ । उनले २०५१ सालदेखि ग्रामीण महिला उत्सकुता विकास मञ्च संस्था स्थापना गरी स्थानीय महिलाहरुको हितमा शिक्षा, स्वास्थ्य, आर्थिक र कानुनी शिक्षा सचेतना फैलाउँदै आएकी थिइन् ।

२०५९ देखि फरवार्ड लघुवित्त स्थापना गरी उनले महिलाहरुको आर्थिक विकासमा जोड दिँदै आएकी छिन् । फरवार्डले अहिले सुनसरीसँगै मुलुकका ४० भन्दा बढी जिल्लाका ग्रामिण भेगका तीन लाख बढी महिलाको अनुहारमा उज्यालो ल्याउन सफल भएको छ ।

सुनसरीको दुहवीमा रहेको फरवार्ड लघुवित्त वित्तीय संस्था मुलतः गरिबीको रेखामुनि रहेका तथा न्यून आय भएका ग्रामिण भेगका महिलाको जीवनस्तर उकास्न तल्लिन छ । यसरी विगतमा पनि महिलाको क्षेत्रमा काम गर्दै आएकी चौधरी महिला तथा बालबालिका मन्त्री बनेसँगै महिलाको क्षेत्रमा थप कामहरु अगाडि बढ्ने अपेक्षा राखिएको छ ।

को हुन् डिपी अर्याल

रास्वपाका उपसभापति समेत रहेका डोलप्रसाद अर्याल समानुपातिक सांसद हुन् । धादिङ घर भएका ४८ वर्षका उनलाई पार्टीले खसआर्यतर्फ पहिलो नम्बरमा राखेको थियो। उनी राजनीतिमा आउनु भन्दा पहिले पर्यटन व्यवसायी थिए भने इजि लिंक रेमिट्यान्सका सञ्चालक समेत हुन् ।

उनले करिव एक दशक शिक्षा क्षेत्रको नेतृत्व सम्हालेका थिए । अर्यालसँग पर्यटन क्षेत्रमा २ दशक भन्दा बढी काम गरेको अनुभव छ । जहाँबाट उनले अरबौं विदेशी मुद्रा नेपाल ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

रेमिट्यान्सको रकम सही प्रयोग होस भनेर ‘रेमिटान्सको रकम उत्पादन क्षेत्रमा लगानी गरौ’ भन्ने नारा सहित देशमा अरबौं रकमको रेमिट्यान्स भित्र्याउन उनले योगदान गरेका छन् ।

अर्याल सहकारी मार्फत नागरिकको आर्थिक अवस्था उकास्ने सहकारी अभियन्ता समेत हुन् । उनले स्वदेश तथा विदेशमा समेत लामो व्यावसायिक अनुभव बटुलेका छन् ।

Ad