Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

अर्थतन्त्रमा सुधारको संकेत, विदेशी मुद्रा सञ्चिति बढेर ९ अर्ब ८२ करोड डलर पुग्यो

२०७९ पुष २९ गते

बैंकिङ खबर/पाँच महिनाको आर्थिक तथा वित्तीय विवरणलाई हेर्दा चालु आर्थिक वर्ष शुरु भएपछि लगातार तेस्रो महिना शोधनान्तर स्थिति सकारात्मक बन्न पुगेको छ । सरकारले गरेको आयात प्रतिबन्धको असर स्वरुप पछिल्ला वर्षमा विदेशी मुद्रा सञ्चिति बढ्न गई शोधनान्तरको अवस्था सकारात्मक बन्न पुगेको हो ।

राष्ट्र बैंकको चालु आवको पछिल्लो पाँच महिनाको अवस्था अनुसार देशको शोधनान्तर अवस्था ४५ अर्ब ८७ करोडले सकारात्मक रहेको छ । चालु आवको पहिलो महिना २२ अर्ब ६३ करोड रुपैयाँ, दोस्रो महिना २३ अर्ब ६८ करोड रुपैयाँले नकारात्मक रहेकोमा तेस्रो महिनादेखि सकारात्मक हुन थालेको हो । असोज महिनामा १२ अर्ब ४३ करोड रुपैयाँले सकारात्मक रहेको शोधनान्तर अवस्था कार्तिकसम्ममा आइपुग्दा २० अर्ब ३ करोड रुपैयाँ र मंसिर महिनासम्म पुग्दा ४५ अर्ब ८४ करोड रुपैयाँले सकारात्मक हुन पुगेको हो ।

चालु आर्थिक वर्षको मंसीर मसान्तसम्म आउँदा रेमिट्यान्स आप्रवाहमा वृद्धि एवम् सरकारले विगत केही महिनादेखि चालु आवको मंसिरसम्म आइपुग्दा ४ खर्ब ८० अर्ब रुपैयाँले रेमिट्यान्स भित्रिएको छ भने मासिक रुपमा मंसिरमा मात्रै सबैभन्दा बढी १ सय २ अर्ब ४६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

पाँचौ महिनासम्म आइपुग्दा देशको कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ८२ करोड अमेरिकी डलर पुगेको छ । चालु आवको शुरुमा देशको विदेशी मुद्रा सञ्चिति ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै रहेको थियो । देशमा विद्यमान मुद्रा सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा आयात गर्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

आयातको २०.७ प्रतिशत प्रतिशत घट्दै जानु एवम् निर्यात समेत ३४.६ प्रतिशतले घट्दै जाँदा देशको समग्र व्यापार घाटा अघिल्लो आवको सोही महिनाको तुलनामा १८.८ प्रतिशतले खुम्चेर ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलर हरेक दिन बलियो हुँदै जाँदा चालु आवको पहिलो महिनामा रेमिट्यान्स पनि बढेको देखिएको छ ।

देशमा श्रावणमा ९२ अर्ब २१ करोड, भदौंमा ४ अर्ब २१ करोड, असोजमा पनि ९४ अर्ब १ करोड, कार्तिकमा ९६ करोड ९९ लाख रुपैयाँ र मंसीरमा १ खर्ब २ करोड ४६ लाख रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । मंसीर महिनाको रेमिट्यान्सको वृद्धिदर अघिल्लो वर्षको सोही महिनाको भन्दा २३ प्रतिशतले बढी हो ।

मंसिर महिनासम्म नेपाल भित्रिएका पर्यटकहरुबाट २३ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरे पनि नेपालीहरु विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर ४२ अर्ब ८ करोड खर्च गरेका छन् । नेपालको खुद सेवा आय २६ अर्ब ६८ करोडले घाटामा रहेको छ । देशले अहिलेको तरलता संकटको समयमा विदेशबाट धेरै भन्दा धेरै लगानी भित्रयाउनु पर्नेमा चालु आवको पाँच महिनासम्म ६० करोड ४९ लाख रुपैयाँ मात्रै वैदेशिक लगानी भित्र्याएको छ ।