Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

धमाधम मर्जरमा बैंक तथा वित्तीय संस्था

२०७९ पुष १८ गते

बैंकिङ खबर/ पछिल्लो समय बैंक तथा वित्तीय संस्था धमाधम मर्जर प्रक्रियामा जान थालेका छन् । गएको आइतबार मात्रै कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले एकीकृत कारोबार शुरु गरेका छन्।दुवै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट एकीकृत कारोबार शुरु गरेका हुन् ।
गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो ।

यसै हाल दुई दर्जन बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिसन प्रक्रियामा छन् । पछिल्लो तथ्यांकअनुसार २२ वटा बैंक तथा वित्तीय संस्था मर्जर प्रक्रियामा रहेका हुन्। जसमा सबैभन्दा बढी ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरु मर्जर प्रक्रियामा सहभागी छन्।

मर्जर प्रक्रियामा ६ वाणिज्य बैंक र १६ वटा लघुवित्त रहेका हुन्। विकास बैंक र फाइनान्स कम्पनी भने मर्जरको प्रक्रियामा छैनन् । नेपाल राष्ट्र बैंकले केही वर्षयतादेखि बैंक तथा वित्तीय संस्थालाई बलियो र सबल बनाउने प्रयासलाई जारी राखेको छ। जसले गर्दा बैंक तथा वित्तीय संस्था मर्जरमा सामेल भइरहेका छन्।

वाणिज्य बैंकहरुमा प्रभु–सेन्चुरी, हिमालयन–सिभिल, ग्लोबल आइएमई–बैंक अफ काठमाण्डू मर्जर तथा प्राप्तिको प्रक्रियामा छन्। यी बैंकहरुको एकीकृत कारोबार यही महिनाबाट शुुरु हुँदैछ ।

त्यसैगरी लघुवित्त कम्पनीहरुमा नेरुडे–मिरमिरे लघुवित्त, सामुदायिक–बीपीडब्लु लघुवित्त, नयाँ सारथी–विजय लघुवित्त, धौलागिरी–खप्तड लघुवित्त, नेसनल–समिट लघुवित्त, साना किसान–आरएमडीसी लघुवित्त, सिवाईसी–आँधीखोला लघुवित्त मर्जर प्रक्रियामा छन्। डिप्रोक्स–आर्दश लघुवित्त भने एक्विजिशन प्रक्रियामा छन्।

कुनै समय ९० को संख्यामा रहेका लघुवित्तहरु हाल घटेर ६४ वटामा कायम भएका छन् । राष्ट्र बैंकले असोज मसान्तसम्म मुलुकमा ६४ वटा लघुवित्त संस्था सञ्चालनमा रहेको जनाएको छ। तर, मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेका संस्थाहरुको एकीकृत कारोबार सफल भएमा यो संख्या अझै घट्ने छ । यस्तै कुमारी र एनसीसी बैंकले आइतबारदेखि एकीकृत कारोबार गरेका छन् भने नेपाल इन्भेस्टमेन्ट बैंक–मेगा बैंकको मर्जरलाई पनि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिइसकेको छ ।