Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार शुरु

२०७९ पुष १७ गते


बैंकिङ खब/ कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको आइतबारदेखि एकीकृत कारोबार शुरु भएको छ । दुवै बैंक एकआपसमा गाभिएपछि कुमारी बैंककै नामबाट आजदेखि एकीकृत कारोबार शुरु भएको हो ।

गत मङ्सिर २५ गते दुवै बैंकले छुट्टाछुट्टै विशेष साधारणसभामार्फत एकआपसमा गाभिने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले यही पुस ६ गते एकआपसमा गाभिन दुबै बैंकलाई अन्तिम स्वीकृति दिएको थियो ।

यी दुबै बैंक एक बराबर एक स्वाप रेसियोमा गाभिएका हुन् । एकीकृत कारोबारपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बनेका छन् । कुमारी बैंकका रामचन्द्र खनाल वरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् ।

एकीकृत कारोबारपश्चात् बैंकको चुक्ता पुँजी रु २६ अर्ब २३ करोड, कूल निक्षेप रु तीन खर्ब दुई अर्ब र कर्जा रु दुई खर्ब ८० अर्ब पुग्नेछ । गाभिएपश्चात् शाखा सङ्ख्या तीन सय छ, एटिएम सङ्ख्या तीन सय ४४, एक्स्टेन्सन काउन्टर ४७ र शाखारहित शाखा ६२ वटा पुग्नेछन् ।

मर्जरपछि कुमारी बैंकको नयाँ सञ्चालक समिति गठन भएको छ । आज एकीकृत कारोबार शुरु भएपछि गठन गरिएको नयाँ सञ्चालक समितिको अध्यक्षमा अमिरप्रताप राणा रहेका छन् । बैंकको सञ्चालकमा एनसीसी बैंकका पूर्वध्यक्ष चन्द्र बास्तोला तथा इमानसिङ लामा र कुमारी बैंकका कृष्णप्रसाद ज्ञवाली तथा महेश पोखरेल रहेका छन् ।