
बैंकिङ खबर/ जापानको मुद्रास्फीति सन् १९८१ यताकै उच्च रहेको छ । नोभेम्बर महिनामा जापानको उपभोक्ता मूल्य सूचांक ३.७ प्रतिशत रहेको छ । सन् २०२१ मा जापानको मूल्यवृद्धि सूचांक नकारात्मक (–०.२३ प्रतिशत) थियो । एक दशकको समय देखि मुद्रास्फीति दर वृद्धि गर्न अनेकन प्रयास गरिरहेको जापानले अहिले मुद्रास्फीति कै कारण सास्ती भोगिरहेको छ ।
सन् २०२२ को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि विश्वभर इन्धन तथा खाद्यान्न अभाव भइरहेको छ । रुस समेत सामेल रहेको कच्चा तेल उत्पादक देशहरुको संगठन (ओपेक)ले कच्चा तेलको उत्पादन कटौती गर्ने निर्णय गरेको छ । जसकारण पश्चिमा देशहरुका साथसाथै जापान पनि प्रभावित बनेको छ ।
जापानको मुद्रास्फीति र नेपालको मुद्रास्फीति दरको तुलना गर्दा जापानको मुद्रास्फीति दर कम लाग्न सक्छ । तर आम्दानीमा वृद्धि नभई खाद्यान्न तथा इन्धनको मूल्य आकाशिदा, जापानी जनताहरु समस्यामा परेका छन् ।
सन् २०२२मा अमेरिकाको वार्षिक मुद्रास्फीति दर ७.१ प्रतिशत, युरोप क्षेत्रका देशहरुको मुद्रास्फीति दर ११.१ प्रतिशत र बेलायतको मूल्यवृद्धि १०.१ प्रतिशत रहेको छ ।
मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, बेलायती केन्द्रीय बैंक र युरोपियन केन्द्रीय बैंकले संकुचित मौद्रिक नीति अवलम्बन गर्दै आक्रामक रुपमा ब्याजदर बढाइरहेका छन् । तर जापानी केन्द्रीय बैंक–बैंक अफ जापानले विस्तारित मौद्रिक नीति अपनाएको छ । जसकारण अन्तराष्ट्रिय बजारमा जापानी येन कमजोर साबित भएको छ ।



