Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

२५ वाणिज्य बैंकहरुले फिर्ता गरे प्रिमियम बढाएर असुल गरेको रकम

२०७९ पुष ८ गते

बैंकिङ खबर/२५ वाणिज्य बैंकहरुले अनाधिकृत रुपमा प्रिमियम बढाएर असुल गरेको करिब साढे ४ अर्ब रुपैयाँ भन्दा बढी ब्याज फिर्ता गरेका छन् । वाणिज्य बैंकहरुले न्यूनतम ४० लाख रुपैयाँदेखि ४८ करोड रुपैयाँसम्म प्रिमियम बढाएर असुल गरेको ब्याज फिर्ता गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षमा प्रिमियम बढाएर अनाधिकृत रुपमा असुलेको ब्याज फिर्ता गर्न २५ वटा बैंकहरुलाई निर्देशन दिइएको थियो । बैंकहरुलाई आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरणको प्रारम्भिक स्वीकृत पाएका २५ वटा बैंकहरुले मात्रै ४ अर्ब ६६ करोड रुपैयाँ अनाधिकृत रुपमा प्रिमियम बढाएर ब्याज असुल गरेको पाइएको केन्द्रीय बैंकले जनाएको छ । उक्त रकम फिर्ता गर्ने शर्तमा वित्तीय विवरणलाई प्रारम्भिक स्वीकृति दिएको र अधिकांश बैंकहरुले उक्त रकम फिर्ता गर्ने अथवा असुल गर्नुपर्ने ब्याजमा मिलान गरिरहेको राष्ट्र बैंकले जनाएको छ ,

नेपाल राष्ट्र बैंकले कर्जाको ब्याजदरलाई आधार दर (बेस रेट) सँग आबद्धता गराएको छ । आधार दरमा कति प्रतिशत प्रिमियम लिने भनेर ऋणी र बैंकबीच सम्झौता भई कर्जाको ब्याजदर निर्धारण हुन्छ । बैंकहरुको बेसरेटको आधारमा कर्जाको ब्याजर घटबढ हुन्छ । तर ऋणसम्म कति प्रिमियम लिने भनेर गरेको सम्झौता भन्दा तलमाथि गर्न पाइँदैन । बैंकहरुले त्रैमासिक रुपमा औसत बेसरेट गणना गर्नुपर्ने र सोही बेसरेटमा घटबढ भए मात्रै कर्जाको ब्याजदर पनि सोही रुपमा घटबढ हुने केन्द्रीय बैंकको व्यवस्था छ ।

आधार ब्याजदरलाई सन्दर्भ ब्याजदर मानेर ऋणी र बैंकबीच सहमतिमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण हुन्छ । ‘कुनै व्यक्ति वा फर्मलाई प्रदान गरिने कर्जा तथा सापटको ब्याजदर निर्धारण गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ’ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा भनिएको छ ।

सुरुमा बैंक र ऋणीबीच यसरी आधार दरमा जोड्ने प्रिमियममा सम्झौता गरेर ऋण प्रवाह गरेपछि कर्जाको अवधिभर प्रिमियम परिवर्तन गर्न पाइँदैन । ‘एकपटक प्रिमियम दर निर्धारण गरी ऋणीलाई दिइने कर्जा प्रस्ताव पत्रमा उल्लेख गरी कर्जा प्रवाह गरे पश्चात प्रिमियम दर वृद्धि गर्न वा कुनै किसिमको डिस्काउन्ट प्रदान गरी पुनः स्वतः वृद्धि हुने जस्ता योजना लागु गर्न पाइने छैन’ एकीकृत निर्देशन २०७८ मा भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुने तथा स्पष्टसँग पहिचान गर्न सकिने कर्जाको ब्याजदर निर्धारणका तत्वहरु समावेश गरिएको दर नै आधार ब्याजदर हो । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । आधार दर गणना गर्दा निक्षेप लागत वा कोष लागत, संस्थाको सञ्चालन लागत (प्रतिशत), अनिवार्य नगद मौज्दात (प्रतिशत), वैधानिक तरलता अनुपात (प्रतिशत) र सम्पत्तिमा प्रतिफल (प्रतिशत) समावेश गरेर आधार दर गणना गरिन्छ ।

तर, गत आर्थिक वर्षमा बैंकहरुले उक्त निर्देशन विपरीत ऋणीसँग प्रिमियम वृद्धि गर्दै बढी ब्याज असुलेको पाइपछि राष्ट्र बैंकले व्याज फिर्ता गर्न निर्देशन दिएको हो । बैंकहरुले वार्षिक वित्तीय विवरण स्वीकृत पठाउँदा राष्ट्र बैंकले उक्त ब्याज फिर्ता नगर्दासम्म स्वीकृत नगर्ने भएपछि बैंकहरु ब्याज फिर्ता गर्न बाध्य भएर फिर्ता गरेका हुन् ।