Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

१८ वाणिज्य बैंकको लाभांशः कुनको कति ?

२०७९ पुष ५ गते

बैंकिङ खबर/ सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये हालसम्म १८ वटाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका १८ वटा बैंकले बोनसभन्दा नगदमा जोड दिएका छन् । केही बैंकले त बोनस नदिएर नगद मात्रै लाभांश दिएका छन् ।

बैंकहरुले घोषणा गरेको लाभांशमा सिटिजन्स, कुमारी, स्टयान्डर्ड चार्टर्ड, एनएमबि बैंकले बोनस नदिइ नगद मात्रै दिएका छन् । लाभांश घोषणा गरेका बैंकमा पनि नगदभन्दा बढी बोनस हुनेमा सानिमा, एभरेष्ट, प्रभु, सेञ्चुरी, सिद्धार्थ, नबिल बैंक रहेका छन् । यी बैंकको नगदभन्दा बोनस बढी रहेको छ । बाँकीको नगद नै बढी रहेको छ । लाभांश घोषणा गरेका बैंकमा २० प्रतिशतभन्दा बढी दिने ३ वटा बैंक रहेका छन् भने, ११ वटा बैंकको दोहोरो अंकको लाभांश रहेको छ । ६ वटा बैंकको एकल अंकमा लाभांश रहेको छ ।

नबिल बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १८.५ र ११.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ र बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ६ र नगद १४.९५ प्रतिशत रहेको छ । यस्तै एभरेष्ट बैंकको २०.६८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १३ र ७.६८ प्रतिशत नगद लाभांश रहेको छ । यस्तै कुमारीले १२.५ प्रतिशत नगद लाभांश दिने भएको छ भने सिटिजन्सले सेयरधनीलाई ९ प्रतिशत नगद लाभांश दिने भएको छ ।

यस्तै एनसीसी बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकोमा ३.३६ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश रहेको छ । यी बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेका हुन् ।

यस्तै सेञ्चुरी बैंकले ५ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस ४.७५, नगद ०.२५, नेपाल एसबीआई बैंकले १०.५३ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ७ र नगद ७.५३ प्रतिशत, प्रभु बैंकले ८ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ६.५, नगद १.५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ४ र नगद ७ प्रतिशत रहेको छ ।

यस्तै मेगा बैंकले ७.७९ प्रतिशत लाभांश घोषणा गरेकामा ४ प्रतिशत बोनस र ३.७९ प्रतिशत नगद, स्टयान्डर्ड चार्टर्ड बैंकको नगद मात्रै १६.५१ प्रतिशत, ग्लोबल आइएमई बैंकले १३.६ प्रतिशत लाभांश घोषणा गरेकामा बोनस ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद तथा सानिमा बैंकले १०.९८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस १० र नगद ०.९८ प्रतिशत रहेको छ।

एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिने भएको छ भने सिद्धार्थ बैंकले १२.५ प्रतिशत बोनस र ०.६६ प्रतिशत नगदसहित १३.१६ प्रतिशत, प्राइम बैंकले ८.९५ प्रतिशत लााभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ४ प्रतिशत र नगद ४.९५ प्रतिशत र नेपाल बैंकले घोषणा गरेको १२ प्रतिशत लाभांशमा बोनस २ र नगद १० प्रतिशत रहेको छ ।

अहिलेसम्म बीओके, कुमारी, सिटिजन्स, स्टयान्डर्ड चार्टर्ड, एनसीसी लगायत बैंकले सभा गरेर लाभांश दिइसकेका छन् । यस्तै लक्ष्मी, सनराइज र माछापुच्छ्रे बैंकले भने सेयरधनीलाई लाभांश नदिने भएको छ ।