नेपाल बैंक लिमिटेड नेपालकै जेठो बैंक हो । सरकारी तथा निजी क्षेत्रको संयुक्त लगानीमा यो बैंकको स्थापना स्थापना वि.सं. १९९४ कार्तिक २० गते भएको हो । यही बैंकको स्थापनासंगै नेपालमा औपचारिक रुपमा बैंकको प्रादुर्भाव भएको थियो । त्यसबेलासम्म सम्पूर्ण मौद्रिक कारोबारहरु निजी डिलर तथा व्यापारिक केन्द्रहरुबाट हुने गर्दथ्यो । त्यो अवस्थादेखि यो अवस्थामा बैंक रुपान्तरण भइसकेको छ । अहिले यस बैंकका कर्मचारीहरु बिभिन्न माग राखेर आन्दोलन गरीरहेका छन् । सोही आन्दोलनका माग र उद्देश्यको सेरोफेरोमा रहेर सहकर्मी नारदमुनि सिग्देलले यस बैंकमा क्रियाशील राज्नीतिक कर्मचारी प्रतिनिधि र सीईओसँग कुराकानी गरेका छन् ।
हाम्रो आन्दोलनलाई कमजोर नठान्न आग्रह गछौँ
हिमाल कुमार कपाली, अध्यक्ष, नेपाल बैंक कर्मचारी संघ
यो युनियन भनेको आन्दोलन हो । हामीले ५०० जनसरोकार माग पुरा गरेका छौँ । यहाँ ६२ प्रतिशत सरकारको लगानी २ प्रतिशत कर्मचारीको लगानी र बाँकी पब्लिकको लगानी छ । २०६२ को आन्दोलनमा १० जनालाई सस्पेन्स् तथा कुनै बैंकमा प्रवेश नपाउने गरी कारवाही गर्दा म पनि परेको थिएँ । ०७० मा पेन्सनमा एकरुपता हुनुपर्छ भनेर आन्दोलन गरेका थियौँ । तर कार्यन्वयन हुन अझै सकेको छैन । फेरी हामीले ०७२ मा ५ वटा बुँदा : १. पुर्ब सहमति कार्यान्वयन २.एकद्धार प्रणालीको बिरोध ३.पेन्सन पाउने ४.दैनिक ५० रुपैयाँ खाजा भत्ता दिने ५.सहायक र निम्न सहायक कर्मचारीलाई स्थाई गर्ने मागसहित आन्दोलन गरेका थियौँ । अहिले २ बुँदे माग : १. ग्रेड प्रणाली सम्बन्धी र २. पूर्वसहमती कार्यान्वयनको मागसहित आन्दोलन गरेका हौँ । हामी र यहाँको व्यबस्थापन टिमबीच भाद्र २६ गते सहमति भएको छ । हामीले शान्तिवार्ता चहेका छौँ । हाम्रो आन्दोलनलाई कमजोर नठान्न आग्रह गछौँ । हामी सैद्धान्तिक लडाई लडेका छौँ । यदि फेरी आन्दोलन गर्नुपर्याे भने सबै बैंकलाई समेत प्रभाब पर्ने गरी गर्ने छौँ ।
व्यबस्थापन टिम र अर्थ मन्त्रालयलाई दबाब दिन यो आन्दोलन गरेका हौँ
राजन रिमाल, उपाध्यक्ष, नेपाल बित्तीय संस्था कर्मचारी संघ
हाम्रो माग भनेको अहिले दुई बुँदे हो । एक, ग्रेड सम्बन्धी भने दुई पुराना मागहरु पूरा गराउन भन्ने छ । यो व्यवस्थापनले माग पुरा गर्ने भनि सहमती नि भएको छ । हामीले व्यबस्थापन टिम र अर्थ मन्त्रालयलाई दबाब दिन पनि यो आन्दोलन गरेका हौँ । नेपाल बैंक राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल बैंक कर्मचारी संघ, वित्तीय संस्था कर्मचारी सङ्घ र नेपाल बैंक कर्मचारी युनियन गरी पाँच युनियनद्धारा संयुक्त रुपमा आन्दोलन गरेका छौँ । यो माग पुरा गर्न गराउन सबैले दबाब दिनु पर्छ । यो न्यायका लागि सबैले पहल गर्नुपर्छ । २०७० सालमा कर्मचारी र व्यवस्थापनबीच करारमा रहेका कर्मचारीलाई अवकाससहितको सेवासुविधा प्रदान गर्ने, कर्मचारीको उपदान वृद्धि गर्ने, कर्मचारीको शिशु स्याहार भत्ता मासिक एक हजार रुपैयाँ प्रदान गर्ने, कर्मचारीको पोसाक भत्ता वार्षिक चार हजार रुपैयाँले वृद्धि गर्ने लगायतका सम्झौता भएको थियो । यही सम्झौतालाई कार्यान्वयनमा ल्याउने मागसहित हामी आन्दोलनमा उत्रेका हौँ । यदि यो माग पुरा नगरेमा छठपछि हामी आन्दोलनमा जान्छौँ ।
हाम्रो तर्फबाट हुने पहल भईसकेको छ
देबेन्द्र प्रताब शाह, सीईओ, नेपाल बैंक लिमिटेड
उहाँहरुको आन्दोलनको माग ग्रेड समायोजन सम्बन्धि हो । यो मागलाई बोर्डले माथि सम्बन्धित ठाउँमा पठाउने कुरा हो । हामीले अनुरोध गरी पठाएका छौँ । हामी त सकरात्मक नै छौँ । हाम्रो तर्फबाट हुने पहल त भईसकेको छ । अर्थ मन्त्रालयकै निर्णयको पर्खाईमा हो हामी पनि । हामीले त असहमत भएका बुँदाहरुलाई माथि पठाउने हो, पठाई सकेका छौँ ।


