Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

निक्षेप संकलन र कर्जा प्रवाह बढ्यो : राष्ट्र बैंक

२०७९ मंसिर २९ गते

बैंकिङ खबर/ चालू आवको चार महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४६ अर्ब ७४ करोड अर्थात ०.९ प्रतिशतले बढेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६२ अर्ब ४२ करोड अर्थात १.३ प्रतिशत ले बढेको थियो । ४ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ६८ अर्ब ५५ करोड अर्थात १.५ प्रतिशत ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३ खर्ब ६४ अर्ब ६२ करोड (८.९प्रतिशत) ले बढेको थियो ।

२०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.४ प्रतिशत, २६.० प्रतिशत र ५८.० प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.१ प्रतिशत, ३३.१ प्रतिशत र ५२.३ प्रतिशत रहेको थियो ।

२०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.१ प्रतिशत रहेको छ । २०७८ कात्तिक मसान्तमा यस्तो निक्षेपको अंश ३९.८ प्रतिशत रहेको थियो ।

२०७९ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.० प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १.३ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको ०.१ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७९/८० को चार महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.८ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ३.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा प्रवाह २.५ प्रतिशतले, कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा २.४ प्रतिशतले र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ४.९ प्रतिशतले, ओभरड्राफ्ट कर्जा ९.७ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ४.६ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा ३.६ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) २.८ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ३.३ प्रतिशतले र मार्जिन प्रकृति कर्जा ५.६ प्रतिशतले घटेको छ ।