Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको निक्षेप ५२ खर्ब माथि, ४७ खर्ब बढी कर्जा परिचालन

२०७९ मंसिर २६ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको निक्षेप ५२ खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत मंसिर २३ गते शुक्रबारसम्म बैंक तथा वित्तीय संस्थाहरुकोे निक्षेप ५२ खर्ब २० अर्ब रुपैयाँ पुगेको हो । २२ गते बिहीबारसम्म ५२ खर्ब १४ अर्ब निक्षेप रहेको थियो ।

बैंकिङ प्रणालीमा रहेको निक्षेपमा वाणिज्य बैंकमा ४५ खर्ब ९८ अर्ब तथा विकास बैंक र फाइनान्स कम्पनीसँग ६ खर्ब २१ अर्ब छ । राष्ट्र बैंकका अनुसार अहिले बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ६१ अर्ब कर्जा परिचालन गरेका छन् । वाणिज्य बैंकहरुले ४२ खर्ब १५ अर्ब कर्जा परिचालन गरेका छन भने विकास बैंक र फाइनान्स कम्पनीले ५ खर्ब ४६ अर्ब कर्जा प्रवाह गरेका छन् ।

बैंकमा निक्षेप बढ्दै गएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३२ प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले यस्तो सीमा ९० प्रतिशतभन्दा नाघ्न नहुने व्यवस्था गरेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले एक–आपसमा गर्ने अन्तरबैंक कारोबारको ब्याजदर गत आइतबार ७.०८ प्रतिशतमा झरेको छ । बैंकहरूले राष्ट्र बैंकबाट पाँच दिनका लागि प्राप्त गर्ने स्थायी तरलता सुविधाको ब्याजदर पनि ८.५ प्रतिशत तोकिएको छ । आइतबार २९ बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट ८ करोड रुपैयाँ मात्र एसएलएफ लिएका छन् ।