
बैंकिङ खबर/पछिल्लो समय बैंकहरुको शाखारहित बैंकिङ सेवा खोल्ने क्रम बढ्दो छ । बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा खाता भएका ग्राहकलाई संस्था स्वयम् वा संस्थाद्वारा नियुक्त व्यावसायिक आधिकारिक प्रतिनिधि (एजेन्ट) का सहायताले ‘प्वाइन्ट अफ ट्रान्जेक्सन’ मेसिनका माध्यमबाट कार्ड प्रयोग गरी महानगरपालिका/उपमहानगरपालिकाबाहेकका क्षेत्रमा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्न सकिने व्यवस्था छ । ती केन्द्रमार्फत खातामा नगद जम्मा गर्न, रकम भुक्तानी तथा रकमान्तर गर्न, खाताको मौज्दात वा कारोबार विवरण (स्टेटमेन्ट) प्रदान गर्न र स्वीकृत कर्जा रकम भुक्तानी दिने तथा किस्ता रकम जम्मा गर्नेलगायत कारोबार गर्न पाइन्छ ।
बैंक तथा वित्तीय संस्थाको शाखा नपुगेका ग्रामीण भेगमा वित्तीय सेवा पु¥याउने उद्देश्यले सुरु गरिएको यस्तो सेवालाई राष्ट्र बैंकले निरुत्साहित गर्ने भएको छ । पछिल्ला महिनामा केही शाखारहित बैंकिङमार्फत भएका कारोबारमा सर्वसाधारणको करोडौं रुपैयाँ हिनामिना भएको, व्यवस्थापन प्रभावकारी बन्न नसकेको, नियामक निकायको निर्देशनबाहिर गएर पनि सञ्चालन भएको घटनाहरु बाहिरिन थालेपछि राष्ट्र बैंक उक्त सेवालाई विस्तारै निरुत्साहित गर्ने स्थितिमा पुगेको हो । शाखारहित बैंकिङ सेवालाई निरुत्साहित गरे पनि बन्द नै गरिहाल्ने बेला नभएको राष्ट्र बैंक स्रोतले बताएको छ ।
विदेशबाट हुन्डीमार्फत नेपाल भित्रिएको रेमिट्यान्स शाखारहित बैंकिङ प्रणालीमार्फत आन्तरिक रेमिट्यान्सका रूपमा मुलुकका विभिन्न स्थानमा गएको आशंका पनि राष्ट्र बैंकले गरेको छ । विदेशबाट हुन्डीमार्फत मुलुक भित्रिएको रकम रेमिट्यान्स कम्पनीका एजेन्ट÷शाखा कार्यालयमार्फत बैंकिङ प्रणालीमा आएको भन्दै राष्ट्र बैंकले त्यस्ता कारोबारको दैनिक सीमा यसअघि घटाएको थियो ।
पछिल्ला महिनामा शाखारहित बैंकिङको संख्या घट्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत असोजसम्म शाखारहित बैंकिङको संख्या १ हजार ५ सय छ । गत आर्थिक वर्षको असोजसम्म यस्तो संख्या १ हजार ७ सय ५२ थियो । शाखारहित बैंकिङको संख्या घटे पनि पछिल्ला महिनामा कारोबार संख्या र कारोबार रकम भने बढेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ । यसअनुसार गत असोजसम्म शाखारहित बैंकिङमार्फत करिब ७३ हजार ३ सय वटा कारोबार भएका थिए । ती कारोबारबाट १ अर्ब ४८ करोड रुपैयाँ परिचालन भएको थियो । ०७८ असोजसम्म शाखारहित बैंकिङमार्फत करिब ५८ हजार ७ सय कारोबार हुँदा १ अर्ब २७ करोड रुपैयाँ परिचालन भएको थियो ।
हाल शाखारहित बैंकिङ सेवामार्फत करिब ३ लाख ग्राहकले कारोबार गरिरहेको राष्ट्र बैंकको तथ्यांक छ । शाखारहित बैंकिङमार्फत कारोबार गर्दा सचेत हुन राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ । पछिल्ला दिनमा शाखारहित बैंकिङमार्फत सर्वसाधारणको बचत हिनामिना भएका घटना बढिरहेको समयमा राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो ।
राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गरेर शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा अपनाउनुपर्ने सजगताका सम्बन्धमा सर्वसाधारणका लागि सचेत हुन भनेको हो । ‘अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिकाबाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ,’ सूचनामा भनिएको छ, ‘बैंकिङ पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा सुरक्षाका विषयमा विशेष ध्यान दिन सम्बन्धित सबैको ध्यानाकर्षण गरिएको छ ।’
शाखारहित कारोबार गर्दा बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फत मात्र कारोबार गर्न, कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्न, कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य लिन र विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनि) मार्फत पनि आफूले गरेका कारोबारको यकिन गर्न पनि राष्ट्र बैंकले भनेको छ । व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए/नभएको यकिन गर्न र सेवा सम्बन्धमा केही सुझाव तथा गुनासो भए राष्ट्र बैंकको उजुरी गर्न पनि भनिएको छ ।




