Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा यी ५ कुरामा विशेष ध्यान दिन राष्ट्र बैंकको आग्रह

२०७९ मंसिर १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले शाखारहित बैंकिङ सेवामार्फत कारोबार गर्दा सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । केन्द्रीय बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो।

राष्ट्र बैंकबाट अनुमतिपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले महानगरपालिका तथा उपमहानगरपालिकाबाहेकका बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएका स्थानमा आधिकारिक प्रतिनिधि नियुक्त गरी शाखारहित बैंकिङ सेवा उपलब्ध गराउन सक्ने व्यवस्था छ। बैंकिङ पहुँच अभिवृद्धि गर्ने अभिप्रायले गरिएको यो व्यवस्थाबमोजिम सेवा उपभोग गर्दा तल उल्लेखित विषयहरुमा विशेष ध्यान दिन केन्द्रीय बैंकले ध्यानाकर्षण गराएको छ।

बैंक तथा वित्तीय संस्थाको आधिकारिक प्रतिनिधि र सहायक प्रतिनिधिमार्फतमात्र तोकिएको सेवा केन्द्रमा गई कारोबार गर्नुपर्दछ। सेवाग्राहीले कुनै पनि कारोबार गर्दा विद्युतीय उपकरणमार्फत मात्र गर्नुपर्दछ। कुनै पनि कारोबार गरिसकेपछि विद्युतीय उपकरणबाट प्राप्त हुने प्रिन्टेड स्लिप अनिवार्य रुपमा लिई आफूले गरेको कारोवारबमोजिम भए नभएको यकिन गर्नुपर्दछ। यसका साथै विद्युतीय उपकरणबाट सुनिने आवाज (ध्वनि) मार्फत पनि आफूले गरेका कारोबारको यकिन गर्न सकिन्छ।

शाखारहित बैंकिङ कारोबारमार्फत रकम जम्मा गर्दा, ऋणको किस्ता तिर्दा अथवा रकम झिक्दा आफूले कारोबार गरेबमोजिमको भए नभएको बेला–बेलामा बैंक खातामार्फतसमेत यकिन गर्नुपर्दछ। व्यक्तिगत सम्बन्धका आधारमा कसैलाई बैंकमा रकम जम्मा गर्न दिएको भए त्यस्तो रकम सम्बन्धित खातामा जम्मा भए नभएको तुरुन्त यकिन गर्नुपर्दछ।
सेवा सञ्चालनका सम्बन्धमा केही सुझाव तथा गुनासो भएमा राष्ट्र बैंकको फोन नं. ४४१५१५८ वा गुनासो सुनुवाइ गर्ने पोर्टल gunasao.nrb.org.np   मार्फत जानकारी गराउनुपर्दछ।