Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कात्तिकमा बैंकहरुको निक्षेप २२ अर्बले बढ्यो, कर्जा प्रवाह कति ?

२०७९ मंसिर ६ गते

बैंकिङ खबर/कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैकर्स संघका अनुसार कात्तिक ४ गतेको तुलनामा कात्तिक ३० गते बैंकहरुमा रहेको निक्षेप २२ अर्ब रुपैयाँले बढेको देखिएको हो । कात्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । गत कात्तिक ३० गते वाणिज्य बैंकहरुमा यस्तो निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।

कर्जा प्रवाह भने घटेको छ । कात्तिक ४ गतेसम्ममा वाणिज्य बैंकहरुले ४२ खर्ब २५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । गत कात्तिक ३० गतेसम्ममा वाणिज्य बैंकहरुबाट भएको कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रुपैयाँ छ । एक महिनाको अवधिमा वाणिज्य बैंकहरुबाट प्रवाह भएको कर्जा ३ अर्ब रुपैयाँले घटेको हो ।

मासिक रुपमा हेर्दा बैंकहरुमा निक्षेप बढेको देखिए पनि यो महिना निक्षेप बढ्ने र घट्ने क्रम जारी रहेको तथ्यांकले देखाएको छ । कात्तिक ४ गतेसम्ममा बैंकहरुका ४५ खर्ब ४१ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा कात्तिक ११ गते घटेर ४५ खर्ब २४ अर्ब रुपैयाँमा सिमित भएको थियो ।

यस्तै, कात्तिक १८ गते बढेर ४५ खर्ब ४५ अर्ब रुपैयाँ र कात्तिक २५ गते ४५ खर्ब ४६अर्ब रुपैयाँ निक्षेप पुगेकोमा कात्तिक ३० गते बढेर ४५ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको हो ।