
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला मौद्रिक नीति समीक्षाको तयारीमा जुटेको छ । त्रैमासिक समीक्षा मार्फत नीति संशोधन गर्न मिल्छ । यसै सन्दर्भ पारेर उद्योगी व्यवसायीहरूले ब्याजदर नियन्त्रण गर्नुपर्ने नीति लिन दबाब दिन थालेका छन् । बैंकहरुले बढाएको व्याजदरका विरुद्धमा उद्योगी–व्यावसायीहरु आन्दोलित भएका छन् । यसैबीच शुक्रबार काठमाडौं माइतीघरमा उद्योगी व्यवसायीले शान्तिपूर्ण मौन विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा उत्रिएका उद्योगी व्यावसायीले ‘प्रिमियम दर वृद्धि नियन्त्रण गर’, ‘ब्याजदर एकल अंक गर’, ‘ब्याजदरमा स्थिरता कायम गर’, ‘चालु पुँजी कर्जा निर्देशिका स्थगित गर’, ‘बैंकिङ आतंक बन्द गर’लगायतका मागसहितका पम्प्लेट बोकेका थिए । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको अगुवाइमा उद्योगी–व्यासायीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म माइतीघरमा शान्तिपूर्ण मौन विरोध गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले उद्योगी व्यवसायीका माग कतैबाट पनि सुनुुवाइ नभएपछि आफूहरु सडकमा उत्रिन बाध्य भएको बताउनुभयो । प्रदर्शनमा खाद्य व्यापार संघ ललितपुर, नेपाल कृषि मेसिनरी व्यवसायी संघ, नेपाल तयारी पोसाक संघ, नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघ, भक्तपुर उघोग वाणिज्य संघ, ललितपुर उद्योग वाणिज्य संघलगायतमा आबद्ध उद्योगव्यवसायी सहभागी भएका थिए ।

उता उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले पनि ब्याजदरको बृद्धिले उद्योग व्यवसायी गम्भिर संकट पैदा भएको भन्दै विरोध गर्दै आएका छन् । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त प्रतिनिधि मण्डलले नेपाल राष्ट्र वैंकका गर्भनर महाप्रसाद अधिकारी लगायत उच्च पदस्थ कर्मचारीहरुका साथ भेटघाट गरी वर्तमानको वित्तीय संकट सम्वन्धमा प्रतिवेदन सहित सुझाव दिएका छन् ।
गत वर्ष राष्ट्र बैंकले मंसिर १० गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको थियो । राष्ट्र बैंकले अहिले पनि त्यही अबधि भित्रमा मौद्रक नीतिको समीक्षा गर्ने तयारी गरिरहेको छ । यहि बेला व्यवसायीले ब्याजदर घटाउन तिब्र दबाब दिन थालेका हुन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई मंसिर ४ गते हुने चुनावले केही असर नगर्ने राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पोखरेलले बताउनुभयो । राष्ट्र बैंकले पनि मौद्रिक नीति मार्फत ब्याजदर घटाउने उपायको खोजी गरिहेको छ । एक वर्षअघि ७ देखि ८ प्रतिशतसम्म रहेको कर्जाको ब्याजदर अहिले बढेर करिव दोब्बर भएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीतिमा चर्को ब्याजदर घटाउने उपायसहितको उपकरण खोजी गरिएको छ । बिज्ञहरुले अहिले देखिएको तरलता अभावको अन्त्य गर्न पुँजी–निक्षेप अनुपात (सिडी रेसियो) खारेज गर्नुपर्ने सुझाव राष्ट्र बैंकलाई दिँदै आएका छन् ।
पछिल्लो समय कर्जाको माग अत्यधिक बढेको तर निक्षेप वृद्धि नहुँदा बैंकहरुको ब्याजदर घट्न सकेको छैन् । उद्योगी, व्यवसायीले वाणिज्य बैंकहरुबाट लिएको ऋणमा १४–१५ प्रतिशतसम्म पुर्याएको आरोप लगाएका छन् । ब्याजदर बढाउँदा व्यवसायी मारमा परेको उनीहरुको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघले यसमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै आएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट एकतर्फीरूपमा ऋणको ब्याजदर अत्यधिक वृद्धि भएका कारण उद्योग, व्यवसाय क्षेत्रको लागत वृद्धि भई सञ्चालनमा कठिनाइ भोगिरहेको भन्दै महासंघले बारम्बार सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै आएको छ ।






