Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

झन् – झन् घट्दैछ विदेशी मुद्राको सञ्चिति

२०७९ कार्तिक ४ गते

बैंकिङ खबर/ विदेशी मुद्रा सञ्चिति झन्– झन् घट्दै गएको छ । विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले हाल ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १५० सीसीमाथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध लगाएको छ । ५ महिनादेखि यी वस्तुको आयात प्रतिबन्ध रहिरहे पनि विदेशी मुद्रा सञ्चिति घट्ने क्रममा सुधार देखिएको

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार दुई महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको छ । गत असार मसान्तसम्म मुलुकसँग कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आउँदा थप २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ ।

२ महिनामा अमेरिकी डलरमा यस्तो सञ्चिति २ प्रतिशत घटेको छ । असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति भदौ मसान्तसम्म ९ अर्ब ३५ करोड कायम भएको छ । हाल कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ५१ अर्ब ५३ करोड छ भने बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

२०७८ असारदेखि नै विदेशी मुद्रा सञ्चिति घटिरहेको छ । २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । सञ्चिति घटेपछि सरकारले वैशाख १४ देखि १० प्रकारका वस्तु आयात प्रतिबन्ध गरेको थियो । प्रतिबन्धलाई खुकुलो गर्दै भदौ १४ देखि ६ प्रकारका वस्तु आयात खुलाइएको थियो । यी ४ प्रकारका वस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्मका लागि कायम गरिएको छ ।