Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर डा. नेपाल अमेरिकामा : विश्व बैंकको कार्यक्रममा सहभागी हुने 

२०७३ आश्विन १९ गते

Dr_Chiranjibi_Nepalगभर्नर डा. चिरंजीबि नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा विश्व बैंकको संयुक्त आयोजनामा हुने वार्षिक मिटिङमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । गभर्नर डा. नेपाल मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । कार्यक्रम संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा असोज २१ देखि २३ सम्म हुँदैछ । उक्त कार्यक्रममा भाग लिन गभर्नर डा. नेपालका साथ गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित समेत त्यसतर्फ प्रस्थान गरेका छन् । 

उक्त कार्यक्रममा १८८ सदस्य राष्ट्रका अर्थ मन्त्रालय, केन्द्रीय बैंक, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा सदस्य राष्ट्रका प्रतिनिधिहरुले विश्व अर्थ व्यवस्था, अन्तर्राष्ट्रिय विकास तथा क्षेत्रीय सहकार्य लगायतका आर्थिक विषयहरुमा छलफल गर्नेछन् ।

आ–आफ्नो संस्थाहरुका नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न आईएमएफ बोर्ड अफ गभर्नर्स र वल्र्ड बैंक बोर्ड अफ गभर्नर्स बर्षमा एक पटक बैठक गर्ने गर्ने गर्दछन् । 

गभर्नर डा. नेपाल वार्षिक मिटङका साथै उक्त मिटिङको साइडलाइनमा आयोजना हुने ३३ औं सार्क फाइनान्स ग्रुप मिटिङमा समेत सहभागी हुनेछन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य मुलुकहरुका गभर्नर र अर्थ सचिव सदस्य रहने सार्क फाइनान्सको बैठकमा सदस्य मुलुकहरुको आपसी हितका बारेमा छलफल हुनेछ । 

अमेरिकामा रहँदा गभर्नर डा. नेपालले विभिन्न सामूहिक छलफलका साथै अन्तराष्ट्रिय मुद्रा कोषका डेपुटी मेनेजिङ डाइरेक्टर लगायत कोषका विभिन्न विभागका अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ताहरुमा समेत सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भई गभर्नर डा. नेपाल असोज २४ गतेका दिन नेपाल फर्कने कार्यक्रम रहेको छ ।