Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ डिजिटलाइजेशन वृद्धि हुँदा बैंकमा भिड घट्यो(सन्दर्भ दशैं)

२०७९ आश्विन १७ गते


बैंकिङ खबर/ बैंकिङ डिजिटलाइजेशनमा वृद्धि भएसँगै बैंकहरुमा यस वर्षको दशैंमा भिड घटेको छ । नेपाल राष्ट्र बैंकले गत वर्ष जस्तै यस वर्ष पनि नयाँ नोट सटहि गरेको थियो । तर विगतका वर्षहरुको तुलनामा यस वर्ष नयाँ पैसा लिनेको भिडमा कमी आएको हो ।

दशैंमा नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ सर्वसाधारणलाई वितरण गरेको छ । दशैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकबाट करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाइएको हो । बैंक तथा वित्तीय संस्थाले साढे ७ अर्ब र सर्वसाधारणले साढे ३ अर्ब रुपैयाँ गरी कुल १० अर्ब रुपैयाँबराबरको नयाँ नोट सटही गराइएको हो ।

राष्ट्र बैंकले दसैँको छेक पारेर साना नयाँ नोट बजार पठाएको छ । गत वर्ष छपाइ गरेका अन्य ठूला नोट पनि राष्ट्र बैंकले बजार पठाउने तयारी गरिरहेको छ । राष्ट्र बैंकले बेलाबेलामा नयाँ नोट प्रवाह गरे पनि पछिल्लो समय नोटको समग्र फ्लो (प्रवाह) बजारमा कमी हुँदै गइरहेको राष्ट्र बैंकले जनाएको छ ।

नोट भुक्तानीमा नै ह्रास हुँदै गएकोले यसको बजारमा फ्लो कम भएको हो । केन्द्रीय बैंकका अनुसार एक वर्ष अवधिमा ११ दशमलव ६ प्रतिशतले बजारमा नोट घटेको छ ।

अहिले ५ खर्ब ५ अर्ब ९० करोड रुपैयाँबराबरका नोटहरु बजारमा रहेका छन् । तर गत वर्ष सम्ममा ५ खर्ब ७१ अर्ब ९६ करोड रुपैयाँबराबरको नोट बजारमा थिए । आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आर्थिक वर्ष २०७८÷०७९ मा ६६ अर्ब ६ करोड रुपैयाँ बराबरको नोट घटेको छ । यसरी नोटको फ्लो बजारमा कमी आउनुको प्रमुख कारणका रुपमा डिजिटल भुक्तानीलाई मानिएको छ ।

राष्ट्र बैंकका अनुसार भने पछिल्लो समय डिजिटल भुक्तानीलाई प्राथमिकतामा राख्न थालिएकाले मुद्रा प्रवाह घटेको हो । साना दरका १० अर्ब नोट दसैँ तिहारलाई लक्ष्य गरी बजारमा पठाइएको केन्द्रीय बैंकले जनाएको छ।

दसैँ तिहारमा सर्वसाधारणले नयाँ नोट चाहन्छन्। त्यही कारण बजारमा उक्त परिमाणको रकम पठाइएको हो। त्यसमा ५, १०, २०, ५०, १०० को नोट हुने राष्ट्र बैंकले जनाएको छ। सर्वसाधारणले दसैँमा १८ हजार ५ सय प्रतिव्यक्तिको दरले नयाँ नोटको सटही पाएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार अहिले डिजिटल भुक्तानीको माध्यम १५ वटा रहेका छन्। ती १५ माध्यममध्ये पेमेन्ट सिस्टम अप्रेसन पीएसओ महत्वपूर्ण भुक्तानी माध्यम हो।

यसमा १० वटा फरक फरक कम्पनीहरु छन्। त्यस्तै पेमेन्ट सर्भिर प्रोभाइडर २७ वटा छन्। पीएसपी एजेन्ट प्रयोगकर्ता १२ हजार ६ सय रहेका छन्। वालेट युजर १ करोड ३६ लाख रहेका छन्।

एटीएम मेसिन ४ हजार ६ सय रहेका छन् भने डेबिट कार्ड युजर १ करोड ८ लाख छन्। त्यस्तै क्रेडिट कार्ड युजर २ लाख ३८ लाख छन्। प्रिपेड कार्ड युजरको संख्या १ लाख ८ हजार छ।

मोबाइल बैंकिङ कस्टुमर १ करोड ८३ छ। इन्टरनेट बैंकिङ ग्राहक १६ लाख छन्। त्यस्तै आरटीजीएस भुक्तानीमा सहभागी हुने ४९ वटा छन् भने कनेक्ट आइपीएसमा सहभागी हुनेको संख्या ८ लाख ९६ हजार छ। त्यस्तै ईसीसी मेम्बर ५९ र आईपीएस मेम्बर भएर डिजिटल भुक्तानी गर्नेको संख्या १ सय ११ छन्।

नोटलाई जतनसाथ प्रयोग गर्न सबैलाई अनुरोध

नेपाल राष्ट्र बैंकले नोटलाई जतनसाथ प्रयोग गर्न सबैलाई अनुरोध गरेको छ । नोट सभ्यताको प्रतिक र हाम्रो सम्पति भएकोले बैंकले सबैलाई यसको जतनसाथ प्रयोग गर्ने अनुरोध गरेको हो । राष्ट्र बैंकले नोटको जतन गर्न सधैँ मनिब्यागको प्रयोग गर्न र भुक्तानीहरु गर्दा सकेसम्म विद्युतिय माध्यम प्रयोग गर्न सुझाव दिएको छ ।

यस्तै नोटमा केरमेट गर्ने, मैला पार्ने, स्टिच हानेर नोटको आयु घटाउने काम बन्द गर्ने राष्ट्र बैंकले अनुरोध गरेको छ । यसैगरी धार्मिक कामहरुमा पनि नोटमा रङ, पानी, दुध र रगत नपार्ने बरु त्यसको सट्टा खाममा पैसा हालेर दिने काम गर्न राष्ट्र बैंकले सुझाव दिएको छ ।