
बैंकिङ खबर/ दशैं बिदामा बैंकिङ प्रणालीमा आवश्यक पर्ने तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार विनियमावली २०७८ संशोधन गर्ने तयारी गरेको छ । यो वर्ष दशैंमा शनिबार समेत लगातार ८ दिन सार्वजनिक बिदा रहेको छ । उक्त अवधिमा बैंकिङ प्रणालीमा तरलताका कारण आउनसक्ने समस्यालाई मध्यनजर गर्दै विनियमावली संशोधन मार्फत स्थायी तरलता सुविधा (एसएलएफ) को अवधि बढाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा उल्लेख भएको खुला बजार कारोबार स्थिरिकरण कोषको व्यवस्था गर्ने गरी विनियमावलीमा समावेश गर्ने तयारी गरेको छ । ‘ तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउन आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा व्यवस्था भएबमोजिम खुला बजार कारोबार स्थिरीकरण कोषको व्यवस्था गरी कार्यान्वयनमा ल्याइनेछ’ मौद्रिक नीतिमा भनिएको छ ।
यस्तै दैनिक तरलता सुविधालाई ओभरनाइट बनाउने बताएको केन्द्रीय बैंकले स्थायी तरलता सुविधा सरकारी ऋणपत्रको धितोमा बैंकहरुले लिंदै आएकोमा त्यसमा कडाइ गरेर अघिल्लो साताको अन्त्यमा कायम स्वदेशी निक्षेपको १ प्रतिशत मात्रै दिने व्यवस्था मौद्रिक नीतिमा गर्यो । यस्तै एलएलएफको अवधि पनि ७ दिनबाट घटाएर ५ दिनमा झार्ने निर्णय गरेको छ ।



