
कृष्ण प्रसाद घिमिरे
नेपालीहरुको महान पर्व विजयादशमी २०७९ नजिकिँदैछ । यस पर्वमा परम्परादेखि नै ठूलाको हातबाट टिका जमरा लगाउने, आशिष पाउने साथै दक्षिणा स्वरुप केही रकम दिने चलन कायमै छ ।
जब ठूला पर्वहरु आउँछन् तब बैंकहरुमा नयाँ नोटहरुको माग अत्यन्तै बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको नोट व्यवस्थापन विभागका अनुसार वर्षेनी करिब रु.४ सय मिलियन नयाँ नोट प्रिन्टिङमा खर्च हुने गर्दछ । त्यसैगरी करिब रु. ४० देखि ५० बिलियन बराबर नोट नष्ट गरिँदै आएको छ । सर्वसाधारणको लापरबाहीले गर्दा काट्ने, च्यातिने, रङ लाग्ने र झुत्रो हुने प्रमुख कारणहरु हुन् ।
यदि सर्वसाधारणले उक्त नोटहरुको हिफाजत गर्ने हो भने नोट निष्काशनमा वर्षेनी हुने करिब ४ सय मिलियन रकम बचत हुन जान्छ ।सामान्यतयाः चाडपर्वमा नयाँ नोटको माग हुने हुँदा दक्षिण दिन, केटाकेटीलाई नयाँ नोट दिएर खुशी पार्न साथै नयाँ नोट देखेपछि सबै खुशीको अनुभुति हुने जस्ता प्रमुख कारण हो ।
तर आजको डिजिटल युगमा हाते दक्षिणालाई आधुनिकीकरण गरी डिजिटल दक्षिणा गर्नुपर्ने अपरिहार्य छ । देशको ठूलो रकम नोट प्रिन्टमा खर्च हुने हुँदा नयाँ नोटको मागलाई घटाई डिजिटल दक्षिणा गर्नु आवश्यक छ र गर्न सकिन्छ । सम्पूर्ण बैंक तथा वित्तीय संस्था साथै डिजिटल भुक्तानी सेवा प्रदायकहरुले डिजिटल बैंकिङलाई प्रवद्र्धन गर्दै नयाँ रङ ल्याएको देखिन्छ ।
खुद्रा नोट व्यवस्थापन साच्चै नै बैंकिङ जगततर्फ समस्याको रुपमा देखा परेको छ । तर पनि नेपाल राष्ट्र बैंक तथा अन्य बैंकले नयाँ नोट सटही गर्ने सुर सारमा छन् । नेपालको समग्र डिजिटल बैंकिङको अध्ययनअनुसार एक करोड ८६ लाख ले मोबाइल बैंकिङ प्रयोग गर्दै आएका छन् भने १७, ०६००० ले इन्टरनेट बैंकिङ प्रयोग गर्दै आएका छन् ।
तसर्थ, यो वर्ष ती प्रयोगकर्ताबाट नै डिजिटल दक्षिणाको सुरुवात गरे हुँदैन र ? यस वर्ष परम्परागत दक्षिणा शैलीलाई आधुनिकीकरण गर्दै दक्षिणा खातामा नै रकमान्तर गरेर नयाँ नोटको सटही नगरी डिजिटल कारोबारलाई बढाव दियौं भने पैसाको बचत, नोटको हिफाजत तथा छपाइ खर्च बच्ने हुन्छ ।




