Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कर्जाको व्याजदर १८ प्रतिशतमाथि

२०७९ आश्विन ६ गते

बैंकिङ खबर/ वाणिज्य बैंकले कर्जाको व्याजदर १८ प्रतिशत भन्दा धेरै तोकेका छन् । बैंकहरुले गएको शुक्रबार १ असोजदेखि लागू हुने ब्याजदर प्रकाशित प्रकाशित गरेका छन् ।

३० भदौ बिहीबार बसेको नेपाल बैंकर्स संघको कार्यकारी समितिको बैंठकले ६ महिनादेखि ‘भद्र सहमति’ खारेज गर्ने निर्णय गरेको थियो । बैंकर्स संघले ब्याजदरमा गरेको सहमति खारेज गरेसँगै १ असोजदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गर्दा बैंकले व्याजदर बढाएका छन् ।

नयाँ ब्याजदरअनुुुसार २६ वाणिज्य बैंकमध्ये ६ वटा बैंकको कर्जाको ब्याजदर १७ प्रतिशतमाथि र एउटा बैंकको कर्जाको अधिकतम ब्याजदर १८ प्रतिशतमाथि पुुगेको हो। सबैभन्दा धेरै बैंक अफ काठमाण्डूको १८.०४ प्रतिशतसम्म पुगेको छ। बैंकको आधारदर १०.४ प्रतिशत रहेकोमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम तोकेको छ। 

यस्तै सिभिल बैंकको कर्जा ब्याजदर अधिकतम १७.७३ प्रतिशतसम्म पुगेको छ। यो बैंकको आधारदर १०.७३ प्रतिशत रहेको छ। त्यसैगरी माछापुच्छ्रे बैंकको कर्जाको अधिकतम ब्याजदर १७.४५ प्रतिशतसम्म पुगेको छ। यो बैंकको आधारदर ९.९५ प्रतिशत रहेको छ। 

सनराइज बैंकले पनि कर्जामा अधिकतम १७.४२ प्रतिशत ब्याज लिने भएको छ। बैंकको आधारदर १०.४२ प्रतिशत रहेको छ। 

यस्तै मेगा बैंकमा कर्जाको ब्याजदर १७.१९ प्रतिशतसम्म पुुगेको छ। आधारदर १०.१९ प्रतिशत रहेकोमा ७ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज तिर्नुुपर्ने बैंकले जनाएको छ। 

सार्वजनिक भएको ब्याजदर अनुुसार एनसीसी बैंकमा कर्जाको ब्याज १७.१७ प्रतिशतसम्म रहेको छ। आधारदर १०.१७ प्रतिशत र त्यसमा ७ प्रतिशतसम्म प्रिमियम थपिने बैंकले जनाएको छ। 

यस्तै सेन्चुरी बैंकमा १७.४ प्रतिशतसम्म कर्जाको ब्याजदर तिर्नुुपर्नेछ। बैंकको आधारदर १०.४ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशतसम्म प्रिमियम थपिनेछ। 

कर्जाको ब्याजदर सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ। यो बैंकबाट कर्जा लिँदा अधिकतम १२.८६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ। बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ। 

यीबाहेक अन्य सबै बैंकहरुको कर्जाको ब्याजदर भने अधिकतममा १३ प्रतिशतदेखि १७ प्रतिशतसम्म रहेको छ। बैंकहरुले मुुद्दति निक्षेपतर्फको पनि ब्याजदर बढाएर व्यक्तिगत मुुद्दति निक्षेपमा १२.१३ प्रतिशत पुुर्याएका छन्। संस्थागत मुद्दति निक्षेपमा १०.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर पुुगेको छ। तर, ५ वाणिज्य बैंकले रेमिट्यान्स खातामा १३.१३ प्रतिशतभन्दा धेरै ब्याजदर दिएका छन्। प्रभु बैंकले १५.१३ प्रतिशत, एनसीसी बैंकले १५ प्रतिशत, सेन्चुुरी, प्राइम र सनराइज बैंकले १४.१३ प्रतिशत ब्याजदर कायम गरेका हुुन्। 

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर चिरञ्जिवी नेपाल बैंकहरुको ब्याजदर थप बढ्ने सम्भावना रहेको बताउनहुन्छ । बैंकिङ खबरसँग कुरा गर्दै उहाँकाले भन्नुभयो, ‘बजारमा अहिले पैसाको अभाव हुँदा ब्याजदर थप बढ्न सक्छ । त्यो सम्भावनालाई रोक्नका लागि सीडी रेसियो केही खुकुलो गर्ने र उत्पादनमुलक क्षेत्रमा केन्द्रीय बैंकले लगानीे बढाउने हो भने थप ब्याजदर नबढ्न सक्छ । त्यस्तै सरकारले ब्याज अनुदान दिएको पैसा सही ठाउँमा लगानी भएको छ कि छैन भनेर उचित अनुगमन तथा मुल्यांकन गरेमा ब्याजदर नबढ्ने सम्भावना छ । यदि त्यो गर्न नसकेमा अहिलेको स्थितिमा जुन रुपमा ब्याजदर बढेको छ, बजारमा पैसाको अभाव रहुन्जेलसम्म ब्याजदर वृद्वि हुँदै जान्छ ।
यो धेरै लामो समयदेखिको अवस्था हो । करिब एकवर्ष अघिदेखि नै हो । केन्द्रीय बैंकले १९ प्रतिशतमा कर्जा विस्तार गर्ने भनिएको थियो अघिल्लो वर्षमा त्यो ३२ प्रतिशतभन्दा माथि भयो जसले गर्दा केन्द्रीय बैंकभित्र भएको सबै निक्षेप बैंकहरुले लगानी गरे र बैंकमा पैसा आउन सकेन । जसले गर्दा अहिले यस्तो अवस्था आएको हो ।’

बैंकहरुले लगानी गरेको निक्षेप जुन रुपमा चार पाँच महिनामा बैंकहरुमा आउनुपथ्र्यो तर आएन र अधिकांश पैसा आयातका लागि खर्च भयो । त्यस कारणले यस्तो अवस्था आएको उहाँको भनाइ छ ।

त्यस्तै रेमिट्यान्स जुन रुपमा लगातार नौ महिनासम्म घट्दै जाँदा रेमिट्यान्सको पैसा पनि बैंकमा कम आयो, जसले गर्दा करिब डेढ वर्षदेखि नै यस्तो स्थिति भएको छ ।

त्यसैले अहिले कसिलो मौद्रिक नीति ल्याएर बजारमा पैसा नपठाउने भन्दा पनि थोरै थोरै पठाउनुपर्ने स्थितिमा नपठाउनुपर्ने जस्तो अवस्था आएको छ । अहिलेको मौद्रिक नीतिले १२.६ प्रतिशत कर्जा विस्तार गर्ने भनेको छ, जुन कर्जा विस्तार नभएसरह हो । साथै मुद्रा प्रदायक १२ प्रतिशत भनेको थियो, त्यो पनि बजारमा पैसा नपठाए सरह हो ।

त्यसकारण यसमा केही सुधार गरी कर्जा विस्तार १५ वा १६ प्रतिशत गरेर र मुद्रा प्रदायक १५ प्रतिशत गरिदिएमा बजार केही हदसम्म चलायमान हुन सक्छ । नत्र भने अनौपचारिक क्षेत्रमा बढ्दै जाने र औपचारिक क्षेत्र साँघुरिदै जान सक्छ, जस्ले गर्दा अर्थतन्त्रमा अन्यौलता सिर्जना हुन्छ ।

बैंक वित्तप्रतिको विश्वास हट्दै जान्छ । त्यसकारण केन्द्रीय बैंकले कसिलो मौद्रिक नीतिलाई निरन्तरता दिँदा कर्जा विस्तारको अवस्था बढाएर १५वा १६ प्रतिशतको हाराहारीमा राख्दा दुई तीन महिना केही राहत हुन्छ । तर अहिले तुरुन्तै केही हदसम्म उत्पादनमुलक क्षेत्रका लागि सीडी रेसियोमा केही खुकुलो बनाइदिने गर्नुपर्छ । जसले गर्दा उत्पादनमुलक क्षेत्रमा केही पैसा जाओस् र सरकारले दिएको अनुदानको पनि राम्रोसँग अनुगमन गरेमा बजारको ब्याजदर घट्ने सम्भावना रहेको उहाँको भनाइ छ ।